सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउदै


     एभरेस्ट आवाज    
     माघ १९ गते २०७८ मा प्रकाशित




काठमाडौ । सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउन लागेको छ । खानेपानीका स्रोत संरक्षण र मूल फुटाउने अभियान सञ्चालन गर्न खानेपानी मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको हो ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले भूकम्प, जलवायु परिवर्तनको असरलगायतका कारण पानीका स्रोत मुहान सुक्दै गएको र भूमिगत पानीको स्रोतको सतह पनि घट्दै गएकाले निकट भविष्यमै मूल फुटाऊ अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । वर्षात्को पानी पोखरीलगायत ठूला–ठूला जलाशयमा संरक्षण कार्यक्रम सञ्चालन गरी हिउँदमा निरन्तर आपूर्तिको व्यवस्था गर्न यस्ता अभियान गर्न लागिएको जानकारी दिइएको छ ।

पानीको मुहान संरक्षणका लागि ओसिलो प्रदान गर्ने रुख, बिरुवासमेत रोपिनेछ भने मुहान क्षेत्रमा रहे–भएका रुख, बिरुवाको संरक्षण गर्ने नीति लिइने छ । मुलुकमा आधारभूत स्वच्छ खानेपानीमा ९४ प्रतिशत जनताको पहुँच स्थापित भएको तथा खानेपानीको गुणस्तर परीक्षणलाई राष्ट्रिय अभियानका रूपमा परिचालन गर्न आवश्यक परामर्श र तयारी सुरु गरिएको मन्त्रालयमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।

तराई, मधेसका विपन्न घरधुरीमा खानेपानीको व्यवस्थानका लागि भएको बजेट विनियोजन प्रभावकारीरूपमा कार्यान्वयनमा गर्ने सन्दर्भमा ‘तराई–मधेस ट्युबेल तथा स्वच्छता’ कार्यक्रमलाई प्राथमिकताकासाथ अघि बढाइएको बताइएको छ । हालै नारायणी, नवलपुर, भरतपुर र दाङमा सहलगानी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ ।

खानेपानी आयोजनामा १० देखि ३० प्रतिशत जनश्रमदान गर्नुपर्ने नीतिगत व्यवस्थाले हाल धेरै आयोजना प्रभावित भई अधुरै रहेकाले नीतिगत सुधारका लागि प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।