सरकारद्धारा महिला भलिबल टोली सम्मानित,खेलकुदको पूर्वाधार विकास तथा खेलाडी सेवा वृद्धिको माग


     एभरेस्ट आवाज    
     माघ २१ गते २०७८ मा प्रकाशित




काठमाडौ । सरकारले बङ्गबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका विजेता राष्ट्रिय महिला भलिबल टोलीलाई आज सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेका हुन् । उक्त प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा गत पुस ६ देखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

भलिबल टोलीले राष्ट्रको गौरव बढाएको भन्दै सरकारले कदरस्वरुप पुरस्कार र सम्मान प्रदान गरेको हो । कार्यक्रमा प्रधानमन्त्री देउवाले खेलकुद देशको नाम र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने महत्वपूर्ण र प्रभावकारी माध्यम भएको भन्दै खेलाडीको सुविधा विस्तारको विषयमा आवश्यक व्यवस्था मिलाउन सरकारले पहल गर्ने बताए ।

सरकारले एशियन सेन्ट्रल जोन महिला भलिबलका टोलीका १२ खेलाडीलाई जनही रु पाँच लाख, प्रमुख प्रशिक्षक र प्रशिक्षकलाई रु तीन–तीन लाख तथा टोली व्यवस्थापकलाई रु दुई लाख प्रदान गरेको छ ।

सम्मानित हुने खेलाडीमा अरुणा शाही ९कप्तान०, मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मि चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु रहेका छन् । त्यस्तै सम्मानित हुने अन्यमा टोलीको मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसी हुन् ।

सरकारले विश्व ब्याडमिन्टनको वरियातामा शीर्ष स्थानमा रहन सफल प्रिन्स दाहाल र साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न सफल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि सम्मान गरेको छ । सरकारले फुटबल टोलीलाई यसअघि नै पुरस्कृत गरिसकेको छ । त्यतिबेला मुख्य प्रशिक्षक अल्मुताइरी अनुपस्थित रहेका कारण उहाँलाई आज सम्मान गरेको हो ।

कार्यक्रममा महिला भलिबल टोलीकी कप्तान अरूणा शाहीले खेलकुदको पूर्वाधारको विकास तथा खेलाडी सेवा सुविधा वृद्धि गर्न सरकारसँग आग्रह गरे । उनले खेलका दौरान घाइते हुनुभएकी भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।