साना बामपन्थी दलको एउटै स्वर: ‘रिजेक्ट एमसीसी’

- भोलिदेखि सडक संघर्ष, २५ माघमा देशैभरी संयुक्त कोणसभा, माघ २६ गते काठमाडौं उपत्यकामा माइतीघरबाट जुलुससहित संसद् भवनअगाडी विरोध प्रदर्शन र देशैभरी सदरमुकामहरूमा संयुक्त विरोध प्रदर्शन र सभा आयोजना


     एभरेस्ट आवाज    
     माघ २४ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर / फाइल फोटो

साना बामपन्थी दलले भोली (मंगलबार) देखि अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा आन्दोलन चर्काउने भएका छन्।

विरोधका कार्यक्रम अन्तर्गत भोली २५ माघमा देशैभरी संयुक्त कोणसभा गर्न लागेको साना बामपन्थी दलले बताएको छ।

त्यस्तै, माघ २६ गते काठमाडौं उपत्यकामा माइतीघरबाट जुलुससहित संसद् भवनअगाडी विरोध प्रदर्शन र देशैभरी सदरमुकामहरूमा संयुक्त विरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय लिएका छन्।

‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसकाविरुद्ध शशक्त आन्दोलन सृष्टी गर्न’ साना बामपन्थी दलले अपिलसमेत गरेका छन्।

यसरी अपिल गर्ने साना बामपन्थी दलहरूमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी छन्।

साथै, मोहन बैद्य र मोहनविक्रम सिंहका पार्टीका मोर्चाहरू क्रमशः सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपालले पनि उक्त आन्दोलनमा सामेल हुने जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।