निसीखोलामा दश शय्याको अस्पताल निर्माण सुरु


     एभरेस्ट आवाज    
     माघ २४ गते २०७८ मा प्रकाशित




बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा १० शय्याको पालिकास्तरीय आधारभूत अस्पताल निर्माण सुरु भएको छ । सङ्घीय सरकारको देशका सबै पालिकामा १५, १० र ५ शय्याको पालिका अस्पताल निर्माण गर्ने नीति अनुसार अस्पताल बनाउन लागिएको हो ।

सो गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले निसीखोला– ४ झिम्पामा अस्पतालको नयाँ भवन बनाउन सुरु भएकोे जानकारी दिए । हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु. आठ करोड २४ लाखमा आगामी २०८० पुसमा सम्पन्न गर्ने गरी भवन बनाउन ठेक्का सम्झौता गरेको छ ।

भवन निर्माणपछि निसीखोलाबाटै विशेषज्ञ सेवा प्रदान गर्ने हुने अपेक्षा गाउँपालिकाले लिएको छ । भवन बनाउन गाउँपालिकाले केही समय अगाडि नै आठ रोपनी निःशुल्क जग्गा प्राप्त गरेको थियो । अस्पताल बनाउन सात रोपनी दुई आना जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख छ । स्थानीयवासीले भवन बनाउन जग्गा प्रदान गरेपछि गाउँपालिकाले गत वर्ष नै अस्पतालको शिलान्यास गरेको थियो ।

गत वर्ष शिलान्यास भएको अस्पतालको निर्माण भने बल्ल सुरु भएको छ । अस्पताल विशेष गरी गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्नेछ । विशेषज्ञसहित स्वास्थ्य सेवा सुरु हुन थालेपछि निसीखोलाका नागरिकलाई स्वास्थ्य उपचारमा सहजता हुने गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।