शिक्षाप्रति महिलाको आकर्षण


     एभरेस्ट आवाज    
     माघ २४ गते २०७८ मा प्रकाशित




चितवन । चितवनको मैयादेवी कन्या क्याम्पसमा अध्ययन गर्न बुहारीको आकर्षण देखिएको छ । क्याम्पसमा ७० प्रतिशतसम्म विवाहित ९बुहारी० हरुले अध्ययन गर्ने गरेका छन् । विवाहपछि परिवारबाट सुरक्षित ठानिएपछि बुहारीको आकर्षण बढेको हो ।

क्याम्पसका प्रमुख डा विश्वराज सुवेदीका अनुसार स्नातकोत्तरमा ७० प्रतिशत छात्रा विवाहित छन् । स्नातकमा यो प्रतिशत ४० भन्दामाथि छ । कक्षा ११ र १२ मा पनि विवाहित छात्रा आउने गरेको सुवेदीले जानकारी दिए। क्याम्पसमा शिक्षा, मानविकी, व्यवस्थापन र नर्सिङ पढाई हुँदै आएको छ । हाल एक हजार ५०० विद्यार्थी अध्ययनरत छन् ।

‘महिला सशक्तिकरणका लागि उच्च शिक्षा’ भन्ने नाराका साथ क्याम्पस स्थापना भएको हो । समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर महानगरपालिका वडा नं १० मा १२ कठ्ठा जमिन खरिद गरी भौतिक निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो । विसं २०५४ असोज १६ गते स्थापना भएको यस क्याम्पसमा सुरुआती चरणमा व्यवस्थापनमा १२ र शिक्षामा ३० विद्यार्थीले अध्ययन गर्दथे ।

यी दुई सङ्कायमा स्नातक तहको पहिलो वर्षमा ३७६ विद्यार्थी पुगेका छन् । प्रमुख सुवेदीले भन्नुभयो, “विवाहितलाई यो क्याम्पस सुरक्षित महसुस हुने गरेको छ, परिवारले पनि यही पढाउने चाहना गर्न थालेको पाइएको छ ।” त्यसो त तराई क्षेत्रबाट समेत विद्यार्थी आउनेक्रम बढेको सुवेदीले जानकारी दिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेल ११ महिनासम्म तलब खुवाउन नसकेको विगत सम्झँदै भने, “म अध्यक्ष भएपछि प्राविधिकसहितको कार्यक्रम थप गर्ने, गुणस्तरमा सुधार ल्याउने जस्ता कार्यले आकर्षण बढेको हो ।”

समाजसेवी एवं राजनीतिक मैयादेवी श्रेष्ठको नामले पनि धेरैलाई आकर्षित गरेको उनको भनाइ छ । स्वच्छ वातावरणमा गुणस्तरीय शिक्षा र भेदभावरहित छात्रावृत्तिले पनि थप आकर्षण गरेको पौडेल बताउछन् । क्याम्पसले रु एक करोड २५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । आगामी वैशाखसम्ममा कोषमा रु एक करोड ४० लाख पु¥याइँदै छ । क्याम्पसका छात्रा दुई पटक देशमै उत्कृष्ट भएको र धेरै पटक जिल्ला प्रथम भएको जनाउँदै उनले त्यहाँबाट उत्कृष्ट भएका सात छात्रा यही प्राध्यापक रहेको बताए ।

क्याम्पसमा प्राध्यापक कर्मचारी गरी ७५ जनाले रोजगारी पाएका छन् । क्याम्पसमा छात्रावास र यातायातको सुविधासमेत दिइएको छ । क्याम्पसले त्रिवि अनुदान आयोगद्वारा गुणस्तर सुनिश्चितता चक्र ९क्युएए साइकल० पूरा गरेको छ । प्रमाणपत्र पाउन बाँकी छ । जिल्लामा अन्य तीन क्याम्पसले मात्रै यो चक्र पूरा गरेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।