कास्की। पोखरा महानगरपालिकाले महानगरको प्रशासकीय भवनसँगै वडा कार्यालयका भवन निर्माण गरिरहेको छ । महानगरले बनाएका भवनहरु सुविधासम्पन्न छन् भने केहीमा विद्युतीय भर्याङसमेत जडान गरिएको छ । नयाँ भवनहरु अपाङ्गतामैत्रीसमेत छन् । महानगरका ३३ वडामध्ये ४ वर्षको अवधिमा नौ वडाका कार्यालय भवन निर्माण सम्पन्न भएको र केहीको निर्माण भइरहेको छ । पछिल्लो समय वडा नं २ को भवन निर्माण सम्पन्न भएर सोही भवनबाट सेवा प्रवाह सुरु भएको छ ।
कूल रु. दुई करोड २५ लाख २७ हजार लागतमा निर्माण गरिएको सो भवनको आइतबार महानगर प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे । सो अवसरमा उनले स्थानीय सरकारले जनतालाई गणतन्त्रको अनुभूति हुने गरी सहज र छिटोछरितो सेवा प्रदान गर्नुपर्ने बताए। विसं २०७४ मा स्थानीय तहको निर्वाचनपछि वडाका नयाँ भवन निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको महानगरले जनाएको छ । जमिन व्यवस्थापन लगायतका समस्याले नयाँ भवन निर्माण रोकिएकाहरुमा पुरानैको स्तरोन्नति गरिएको बताइन्छ ।
महानगरले हालसम्म वडा नं २ सहित वडा नं ७, ११, १२, १६, १९, २२, ३० र ३२ का नयाँ भवन निर्माण गरेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए । उनका अनुसार वडा नं ८ र १८ मा भवन निर्माणका लागि शिलान्यास भइसकेको छ । त्यसैगरी महानगरको प्रशासकीय भवनको समेत शिलान्यास गरेर काम सुरु गरिएको छ । पोखरा–९ नयाँबजारस्थित दमकलमार्गमा चार रोपनी क्षेत्रफल जमिनमा सुविधासम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण सुरु गरेको हो । यसैगरी वडा नं ६, १७ र २६ का भवन निर्माणका लागि प्रक्रिया सुरु गरिएको पौडेलले जानकारी दिए । उनले भने, “प्रशासकीय भवनसँगै वडाका आफ्नै भवनहरु निर्माण महानगरको प्राथमिकतामा छन् । सुविधासम्पन्न कार्यालय भवनबाट सेवा प्रवाहमा सहज हुनेछ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







