साङकेति तस्बिर
बागलुङ । हिमपातका कारण शुक्रबारदेखि बन्द भएको मध्यपहाडी पुष्पलाल राजमार्ग अझै खुल्न सकेको छैन । हिमपातले मध्यपहाडी राजमार्गको बागलुङ खण्ड चार दिनदेखि अवरुद्ध बनेको हो ।
वर्षासँगै परेको हिमपातले बागलुङको माथिल्लो क्षेत्र अझै पनि सेताम्मे छ । शुक्रबार रातिदेखि परेको हिमपातले शनिबार बिहानसम्म बागलुङका ग्रामीण क्षेत्र पनि हिउँले सेताम्मे बनेका थिए । भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गअन्तर्गतको बागलुङ–पूर्वी रुकुम सडक खण्ड ठप्प भएको छ ।
बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा अत्यधिक हिमपात भएपछि यातायात ठप्प भएको हो । निसीखोलाको सीप क्षेत्रदेखि माथिल्लो भेगमा दुई फिटभन्दा बढी हिउँ जमेको हुँदा सडक अवरुद्ध भएको स्थानीयवासी अबिन घर्ती मगरले जानकारी दिए ।
उनले सिमानाभन्दा तल्लो क्षेत्रमै दुई फिटभन्दा बढी हिउँ जमेको भन्दै सिमाना अझ बढी हिउँ भएको बताए । काठमाडौँदेखि पूर्वी रुकुमका लागि छुटेका गाडी रोकिएका छन् । सडक अवरुद्ध हुँदा यात्रुहरुलाई यातायातमा समस्या भएको छ । बागलुङ हुँदै पोखरा, काठमाडौँलगायत देशका मुख्य सहरमा जाने यात्रु सडक अवरुद्धका कारण रोकिनु परेको छ ।
यस क्षेत्रमा यो तेस्रो पटकको हिमपात हो । पहिलो र दोस्रो पटक हिमपात हुँदा केही कम परेको भए पनि यस पटक भने अत्यधिक परेको निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए । उनले अवरुद्ध भएको लोकमार्ग तत्काल खुलाउन सम्भावना नभएको बताए । हिउँ आफै पग्लेर यातायात सञ्चालन गर्न सहज भएमा मात्रै ओहोरदोहोर गर्ने यात्रुहरुलाई सहज हुने बताईएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







