पोखरा, माघ २४
कास्कीमा छुटेका सुकुम्बासीलाई राष्ट्रिय भूमि आयोगले नाम दर्ता गर्न पुनः अवसर दिने भएको छ । राष्ट्रिय भूमि आयोग कास्कीका नवनियुक्त अध्यक्ष गंगाप्रसाद पोखरेलले सोमबार पदबहाली गर्दै आयोगले पहिले दिएको समयमा नाम दर्ता गराउन छुटेका सुकुम्बासीलाई कास्कीमा पुनः नाम दर्ताका लागि अवसर दिने बताएका हुन् । ‘विगतमा लगत छुट भएकालाई हामी पुनः लगत दर्ता गर्न अवसर दिन्छौं, त्यसका लागि चाँडै आह्वान गर्छौं’–उनले भने ।
अध्यक्ष पोखरेलले कास्कीमा सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबास छैन भन्ने बनाउने घोषणा गरे । उनले भने,‘अब कहिलेपनि भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास छैन भन्ने बनाउँछु ।’ तर यसका लागि संघ, प्रदेश र स्थानिय तहदेखि प्रशासन र सरोकारवाला सबैले सघाउनुपर्ने बताए । उनले आयोगको कार्यविधी र ऐन भित्र रहेर काम गर्ने प्रतिबद्धता जनाए । ‘काम सहज छैन, तर सबैको सहयोग मिल्यो भने सहज रुपमै लक्ष्यमा पुग्छौं’–उनले भने । पालिकाहरुले जग्गा खोज्न सघाउनुपर्ने उनको भनाई थियो ।
अध्यक्ष पोखरेलले आयोगको विगतको जस्तो गतिले लक्ष्य नभेटिने बताए । उनले भने,‘विगतकोजस्तो गतिले लक्ष्यमा पुगिन्छ जस्तो लाग्दैन, त्यसैले गति बढाउनुपर्छ भन्ने लाग्छ, म आयोगको गति बढाएर आयोगको लक्ष्य भेट्टाउन दृढ छु ।’ उनले कास्कीमा सुकुम्बासीहरुलाई चाँडै लालपूर्जा वितरण गर्ने बताए । अहिले यहि मितिमा लालपूर्जा वितरण गर्छु भनेर भन्न सक्दिन तर जतिसक्दो चाँडो लालपूर्जा वितरण गर्न प्रयत्न गर्छु,उनले थपे,‘५०÷५५ वर्षदेखि जमिन पाउने आशमा जमिन कुरेर बसेकाहरु, बिसौं वर्षदेखि अव्यवस्थित बसेकाहरुलाई ब्यबस्थित बसोबास र लालपूर्जा दिएरै छाड्छौं ।’
कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले देशमा सुकुम्बासी छन् भन्ने कुराको अन्त्य गर्नेगरी आयोगले काम गर्नुपर्ने बताए । सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबास कुनै राजनीतिक दलको मात्र समस्या नभएको बताउँदै उनले भने,‘यो राज्यको समस्या हो, यसलाई राज्यले समाधान खोज्नुपर्छ, यसका लागि आयोगले काम गरोस् ।’ उनले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने काममा कसैलेपनि बाधा अवरोध गर्न नहुने बताए । साथै उनले सुुकुम्बासीलाई भोट बैंकको रुपमा प्रयोग गर्ने गरेको भन्दै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय भूमि आयोग कास्कीका नवनियुक्त अध्यक्ष गंगाप्रसाद पोखरेल पदबहाली गर्दै ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







