सर्लाही । गत वर्षका तुलनामा सर्लाहीमा आलु उत्पादनमा कमी आएको छ । जिल्लाको उत्तर–पश्चिम भेगमा व्यावसायिक आलुखेती गर्दै आएका किसानले समयमै रासायनिक मल नपाउँदा आलु उत्पादनमा दोब्बरले कमी आएको बताइएको छ ।
बरहथवा नगरपालिका–१ हजरियाका किसान रामकुमार नेपालले भने,“विगतका वर्ष पनि आलु उत्पादन कमै भएको थियो । समयमा मल नपाउँदा यसवर्ष पनि झन् कमी आयो । उत्पादित आलुले बजार समेत पाएको छैन । ” प्रतिकिलो रु २५ देखि ३० मा बीउ किनेर रोपेको आलु अहिले रु १५ मा बिक्री गर्नुपरेको उनले गुनासो गरे ।
भारतबाट सस्तो मूल्यका आलु नेपाली बजारमा भित्रिएकाले स्वदेशी उत्पादनले भाउ नपाएको किसानको गुनासो छ । किसानले आलु व्यापारीलाई प्रतिकिलो रु १६ मा खेतबाटै बिक्री गरिरहेका छन् । बागमती नगरपालिका– ६ राजघाटका किसान पनिलाल रामले भने,’“आलु लगाउने समयमा युरिया मलको अभाव भयो ।
”जिल्लाको बरशथवाको हजरिया, राजघाट, बरहथवा, मानपुर, शङ्करपुरलगायत क्षेत्रमा व्यावसायिक आलुखेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाब, कुप्री सिन्दुरे, विविरे केतु र कोमल जातको आलु खेती गरिन्छ । जिल्लाभर एक हजार ४०० हेक्टर क्षेत्रफलमा आलुखेती हुने जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए ।
जिल्लामा उत्पादन भएको आलु मलङ्गवा, चपुर, वीरगन्ज र कलैयामा रहेको शीत भण्डारमा भण्डारनका लागि लैजानुपर्ने बाध्यता रहेको जिल्लाका किसानको गुनासो छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख दीपक थापा मगरलले जिल्लामा मल अभाव नरहेको बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







