कांग्रेस पदाधिकारीबीच बिहीबारको कार्यसम्पादन बैठकबारे छलफल


     एभरेस्ट आवाज    
     माघ २६ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । नेपाली कांग्रेसका पदाधिकारीबीच बिहीबारका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकका कार्यसूचीबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल भएको थियो ।

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाहेक पदाधिकारीबीच छलफल भएका विषयबारे सभापति देउवालाई जानकारी गराइएको प्रवक्ता डा प्रकाशशरण महतले बताए । केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट प्राप्त सुझाव र सल्लाहका आधारमा पार्टी आगामी दिनमा सशक्तरूपमा कसरी अगाडि बढ्ने र परिचालन हुनेसम्बन्धी निर्णयमा पुगिने उनको भनाइ थियो ।

कांग्रेसले यही माघ २७ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने कार्यसूची तय भएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण कांग्रेसका १६ जिल्लाका अधिवेशनको मिति अझै तय हुन सकेको छैन ।

यसैगरी नेपाल सरकार, मन्त्रिपरिषद्को सोमबारको बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।