पाँचौँ संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट फागुन २२ गतेदेखि


     एभरेस्ट आवाज    
     माघ २७ गते २०७८ मा प्रकाशित




बैतडी । पाँचौँ संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । दशरथचन्द नगरपालिका र नगर क्रिकेट समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता अगामी फागुन २२ गतेदेखि सञ्चालन हुने छ ।

प्रतियोगितामा नगरपालिकाभित्रका ११ वडाको सहभागिता रहने समितिका संयोजक रमेश भट्टले जानकारी दिए । आइसिसीको नियमानुसार सञ्चालन हुने प्रतियोगितामा सहभागिता हुन चाहने टोलीले फागुन १८ सम्म दर्ता गराइसक्नुपर्नेछ । प्रतियोगिताको विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ ।

नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको दशरथचन्द नगर प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।

यसैबीच उपमेयर कप महिला क्रिकेट प्रतियोगिता भने अगामी चैत २ गतेदेखि सञ्चालन हुने समितिले जनाएको छ । यसअघि गत वर्ष सम्पन्न चौथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई चार रनले स्तब्ध पार्दै वडा नं ४ खलङ्गाले हात पारेको थियो । यस्तै चौथो संस्करणको उपमेयर कप वडा नं २ देहिमाडौँलाई ९ विकेटले हराउँदै वडा नं ६ थालिगडाले जितेको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।