चुनावी सहकार्यका लागि जिल्ला स्थित गठबन्धन दलबीच छलफल


     एभरेस्ट आवाज    
     माघ २७ गते २०७८ मा प्रकाशित




बागलुङ । बागलुङका सत्तारुढ गठबन्धन दलहरूले आसन्न स्थानीय तहको चुनावमा मिलेर जानका लागि छलफल र गृहकार्य अघि बढाएका छन् । आज पाँच दलीय गठबन्धनका जिल्ला तहका प्रमुख नेताबीच चुनावी सहकार्यका लागि प्रारम्भिक कुराकानी भएको हो ।

गठबन्धनलाई वडा तहसम्म व्यवस्थित गर्ने, आपसी विश्वास र समझदारी विकास गर्दै चुनावसम्मै मिलेर जाने विषयमा भएको छलफल सकारात्मक भएको गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसका जिल्ला सभापति जीतबहादुर शेरचनले बताए ।

शेरचनले प्रदेश तहमा पनि गठबन्धन दलबीच चुनावलक्षित छलफल सुरु भएको स्थितिमा जिल्लामा पनि त्यसको गृहकार्य अघि बढेको उल्लेख गरे । नेपाल रेडक्रस सोसाइटीलगायत सङ्घसंस्थाका चुनावमा पनि सत्ता गठबन्धन दलबीच सहकार्य गरेर जानुपर्नेमा नेताहरूले जोड दिएका थिए ।

छलफलमा सहभागी गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र), जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले स्थानीय तहको चुनाव घोषण भएको स्थितिमा जिल्लास्तरमा गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा अनौपचारिक कुराकानी भएको बताए । छलफलमा कांग्रेस सभापति शेरचन, माओवादी केन्द्रका संयोजक गैरे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, नेकपा (एकीकृत समाजवादी)अध्यक्ष लालबहादुर थापा र जनता समाजवादी पार्टीका अध्यक्ष बाबुकाजी केसी सहभागी भएका थिए ।

स्थानीय तहको चुनाव घोषणा भएसँगै दलहरु तात्न थालेका छन् । नेकपा (एमाले) को जिल्ला शखाले पनि चुनाव केन्द्रित अभियान सञ्चालन गरिने जनाएको छ । चुनावलाई लक्ष्य गरी आउँदो फागुनभित्रमा प्रदेशको निर्वाचनका लागि क्षेत्रस्तरमा जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने निर्णय भएको पार्टीका प्रचारप्रसार विभाग प्रमुख गणेश पौडेल ‘चन्द्र’ले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।