४ देशीय टी–२० क्रिकेट श्रृंखला: आज नेपाल र ओमान खेल्दै


     एभरेस्ट आवाज    
     माघ २८ गते २०७८ मा प्रकाशित




४ देशीय टी–२० क्रिकेट श्रृंखला अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) घरेलु टोली ओमानसँग खेल्दैछ।

खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेदेखि अल अमिरात क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट श्रृंखला हुन लागेको हो।

विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले श्रृंखला खेल्न लागेको हो। यो श्रृंखलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी–२० विश्व कप छनोटको पूर्ण तयारीका रुपमा लिएको छ।

नेपाली टोलीमा १७ खेलाडी छन्। आउँदो शुक्रवारदेखि सुरु हुने टी–२० विश्व कप छनोटअघि यसलाई १४ सदस्यीय टोलीमा झार्नुपर्नेछ।

सन्दीप लामिछाने कप्तान बनेपछि यो उनको पहिलो खेल पनि हो। नेपालले ओमानसँग टी–२० मा पछिल्लो पटक सन् २०१९ मा खेलेको थियो। यो खेलमा ओमानले नेपाललाई ६ विकेटले हराएको थियो।

ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन्। ८ टोलीमध्ये समूह ‘ए’ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान तथा समूह ‘बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।