कास्कीमा फागुन १ गतेदेखि विद्यालय, कलेज खोल्न पाइने


     एभरेस्ट आवाज    
     माघ २८ गते २०७८ मा प्रकाशित




पोखरा, माघ २८

कास्कीमा स्मार्ट लकडाउन खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले फागुन १ गतेदेखि स्मार्ट लकडाउनलाई खुकुलो बनाएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जयनारायण आचार्यले शुक्रबार एक सूचना जारी गर्दै फागुन १ गतेदेखि पहिले निषेधित गरिएका केहि प्रावधानहरु खुकुलो बनाएको जनाएका छन् ।

कास्कीमा शैक्षिक संस्थाहरु माथि लगाइएको निषेध फुकुवा गरिएको छ । यसअघी स्मार्ट लकडाउन घोषणा गर्दै शैक्षिक संस्थाहरु खोल्न निषेध गरिएको थियो । तर प्रशासनले शुक्रबार जारी गरेको विज्ञप्तीमा फागुन १ गतेदेखि विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टरहरु भौतिक उपस्थितिमै सञ्चालन गर्न अनुमति दिइएको छ । त्यस्तै, तालिमलगायतका शैक्षिक क्रियाकलापसमेत गर्न पाइने जनाइएको छ । तर शैक्षिक संस्थाहरु खोल्दा वा तालिमलगायतका शैक्षिक क्रियाकलाप गर्दा मास्कको अनिवार्य प्रयोग, हात धुने ब्यबस्था, सेनिटाइजरको पर्याप्त प्रयोग र विद्यार्थी तथा शिक्षक र विद्यार्थीबीचमा भौतिक दुरी कायम अनिवार्य रुपमा गर्नुपर्ने शर्त राखिएको छ । साथै विद्यार्थी ओसारपसार गर्दा माथिल्लो र तल्लो कक्षाका विद्यार्थीहरुलाई भिडभाड नहुने गरि फरक÷फरक समयमा आवागमनको ब्यबस्था मिलाउनुपर्ने भनिएको छ ।

शैक्षिक संस्थाहरु खोल्न अनुमति दिइएपनि अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न भने रोक लगाइएको छ । त्यस्तै कक्षा कोठा, शौचालयलगायत भौतिक संरचनाहरुमा सरसफाई सुनिश्चित गर्नुपर्ने प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।

शैक्षिक संस्थाहरु सञ्चालन गर्न दिइएपनि कास्कीमा सिनेमा हल, डान्सबार, दोहोरी, नाच घर, क्लव, हेल्थ क्लव, जिम खाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार, स्पा सेन्टर, व्यूटीपार्लरलगायतका भिडभाड हुने अन्य प्रकारका कार्यक्रमहरु माथि लगाइएको रोक यथावत छ । त्यस्तै आमसभा, जुलुश, सभा वा धेरै मानिस भेला हुने क्रियाकलाप पनि गर्न नपाइने प्रशासनको आदेशमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।