गण्डकी स्तरिय विद्यालय नाटक महोत्सव फागुन १३ गतेबाट पोखरामा हुने


     एभरेस्ट आवाज    
     माघ २८ गते २०७८ मा प्रकाशित




पोखरा माघ २८

कोरोना महामारीका कारण रोकिएको दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव फागुन १३ गतेबाट हुने तय भएको छ । आयोजक पोखरा थिएटरले दिएको जानकारी अनुसार फागुन १३ गते शुक्रबारबाट सुरु हुने महोत्सव फागुन १६ गते सोमबारसम्म चल्नेछ । यसअगाडि माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिने तय भएको थियो ।

महोत्सवका लागि गण्डकी प्रदेशका ८ जिल्लाका १२ नाटक छनोट भएका छन् । महोत्सवको लागि प्राप्त कुल २४ नाटक मध्येबाट पहिलो चरणमा १६ नाटक छनोट गरिएको थियो । छनोट भएका १६ नाटकबाट अन्तिम चरणको लागि १२ नाटक छनोट गरिएको महोत्सव संयोजक समेत रहनुभएका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । ‘फागुन १३ गतेदेखि १६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा हरेक दिन ३ वटा नाटकका दरले ४ दिन नाटक मञ्चन गरिनेछ’ परिवर्तनले भने ।

नाटक छनोटका लागि पौष २६ गतेबाट माघ २ गतेसम्म विभिन्न जिल्लामा गएर अवलोकन गरिएको थियो । अन्तिम चरणमा १० नाटक छनोट गर्ने भनिएपनि नाटकको प्रस्तुतीका आधारमा थप २ नाटकलाई प्रोत्साहन स्वरुप छनोट गरिएको आयोजकको भनाई छ ।

अन्तिम चरणको लागि नवलपुर जिल्लाबाट सबैभन्दा धेरै तीन नाटक छनोटमा परेका छन् । जसमा लिलाबहादुर भण्डारीको लेखन तथा निर्देशनमा कुमारी प्रा.वि.को हराएको खुशी, खगराज सापकोटाको लेखन तथा निर्देशनमा त्रिभुवन बाल माध्यमिक विद्यालयको जिम्मेवार को ? र अनामिका सापकोटाको लेखन तथा कमला कँडेलको निर्देशनमा बरचुली माध्यमिक विद्यालयको सक्षम छात्रा शिर्षकको नाटक रहेका छन् ।

कास्की जिल्लाबाट दुई नाटक छनोटमा परेका छन् । जसमा मनोज अधिकारीको लेखन तथा सोनिया कार्की खत्रीको निर्देशनमा भानुभक्त आवसीय माध्यमिक विद्यालयको शान्तिको अशान्ति शिर्षकको नाटक र सुनिता ज्ञवालीको लेखन तथा निर्देशनमा धर्मस्थली आधारभूत विद्यालयको आरोह अवरोह शिर्षकको नाटक रहेका छन् ।

लमजुङ जिल्लाबाट दुईवटा नाटक छनोट भएका छन् । जसमा भरत रानाको लेखन तथा निर्देशनमा युनिभर्सल एकेडेमीको धनवहादुर शिर्षकको नाटक र सुर्य बहादुर के.सी.को लेखन तथा पशूपति न्यौपानेको निर्देशनमा विद्याज्योति माध्यमिक विद्यालय सुन्दरबजारको जीउँदालाशहरु शिर्षकको नाटक रहेका छन् ।

तनहुँ जिल्लाबाट टुकादेवी पौडेलको लेखन तथा निर्देशनमा पञ्चमुनिदेव माध्यमिक विद्यालयको नाम बिनाको चिर्कटो छनोट भएको छ । यसैगरी गोरखाबाट अनिता देसाईको लेखन तथा सुरेन्द्र देवकोटा नाट्य रुपान्तरण एवं निर्देशनमा शक्ती माध्यमिक विद्यालयको एक समर्पित छोरा शिर्षकको नाटक अन्तिम छनोटमा पर्न सफल भएको छ । म्याग्दी जिल्लाबाट बेनी सामुदायिक माध्यमिक विद्यालयको बाल विवाह शिर्षकको नाटक छनोट भएको छ । कर्ण बस्यालले लेखेको यस नाटकलाई रामचन्द्र पौड्यालले निर्देशन गरेका छन् ।

बाग्लुङ जिल्लाबाट कालीगण्डकी आवासीय माध्यमिक विद्यालयको विदेशिनु पर्दाको पीडा शिर्षकको नाटक छनोट भएको छ । जीवननाथ शर्मा रेग्मीको लेखन तथा अर्जुन थापाको निर्देशनमा यो नाटक तयार भएको छ ।

यस्तै पर्वत जिल्लाबाट न्यु होराइजन आवासीय माध्यमिक विद्यालयको मेरो समाजमा नारी शिर्षकको नाटक छनोटमा परेको छ । मीना रेग्मीको लेखन रहेको नाटकलाई रेजिना मल्लले निर्देशन गरेकी छन् ।

नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको थियो । जसको सदस्यमा निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहनुभएको छ । उहाँहरुले सम्बन्धित ठाउँमा पुगेर नाटकको अवलोकन गरेर उत्कृष्ट १२ छनोट गर्नुभएको हो । ‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आयोजना गरिएको महोत्सवमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रमुख सहकार्य एंव नेपाल सङ्गीततथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाण्डौं र पोखरा प्रज्ञा–प्रतिष्ठानपोखराले सहकार्य गरेका छन् ।

गएको वर्षदेखि पोखरा थिएटरले गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । त्यसभन्दा अगाडि थिएटरले पोखरा महानगरपालिका स्तरिय नाटक महोत्सव समेत आयोजना गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।