आजदेखि गण्डकीमा रगत निःशुल्क


     एभरेस्ट आवाज    
     फागुन १ गते २०७८ मा प्रकाशित




पोखरा, फागुन १

गण्डकी प्रदेशमा निःशुल्क रगत वितरण शुरु भएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशभरीका घाईते तथा विरामीहरुलाई निःशुल्क रुपमा रगत वितरण गर्न शुरु गरेको हो । निःशुल्क रगत वितरणको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार उद्घाटन गरे । मुख्यमन्त्री पोखरेलले नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गर्दै आएको व्लड बैंकबाट ल्याइएको रगतको बक्स पोखरा–१६ की विरामी मनकुमारी गुरुङकी छोरा दुर्गप्रसाद गुरुङलाई हस्तान्तरण गरेर निःशुल्क रगत वितरण कार्यको शुभारम्भ गरेका हुन् ।

औपचारिक शुभारम्भ सँगै अब गण्डकी प्रदेशमा निःशुल्क रगत वितरण शुरु भएको छ । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा उपचार गर्दा आवश्यक पर्ने सबै विरामीलाई रगत निःशुल्क उपलब्ध गराइने छ । निःशुल्क रगत उपलब्ध गराउनका लागि प्रदेश सरकार र जिल्लास्थित रक्त सञ्चार केन्द्रबीच सहकार्य भएको छ । रक्तसञ्चार केन्द्रले रगत परीक्षण गरेर विरामीलाई रगत निःशुल्क उपलब्ध गराउनेछ भने रगत परीक्षणलगायतको सेवा शुल्कमा लाग्ने लागत प्रदेश सरकारले बेहोर्नेछ । कास्कीमा निःशुल्क रगत वितरणको व्यवस्थापन मात्रीशिशु अस्पतालले गर्नेछ ।

नेपालमा नेपाल रेडक्रस सोसाइटीले व्लड बैंक स्थापना गरेको छ । विरामीले उक्त व्लड बैंकबाट एक पिन्ट (युनिट) रगतको ७५० रुपैयाँ तिरेर रगत लिने गरेका छन् । व्लड बैंकले रगतको मूल्य भने लिएको होईन । रक्तदाताले रगत निःशुल्क दान गरेपनि त्यसको परीक्षणदेखि भण्डारणसम्म गर्दा लाग्ने व्यवस्थापकीय खर्च स्वरुप सो रकम लिने गरेको नेपाल रेडक्रस सोसाइटीको भनाई छ ।

दुर्घटनालगायतबाट घाईते भएका, विभिन्न रोगबाट विरामी भएकाहरुलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराईने स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले बताईन् । प्रदेशबासीलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क दिने संवैधानिक प्रावधान, प्रदेशको स्वास्थ्य नीति अनुरुप रगत निःशुल्क दिन थालिएको उनको भनाई छ । ‘प्रदेशका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क रगत उपलब्ध गराइनेछ, विरामीलाई एक पिन्ट (युनिट) होस् वा आवश्यक पर्ने सबै रगत निःशुल्क हुन्छ’–उनले भनिन् ।

नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने गण्डकी प्रदेश सरकार पहिलो भएको छ । यसअघी वागमती प्रदेशले विपन्न परिवारलाई रगत निःशुल्क गरेको थियो । त्यसका लागि स्थानिय तहले आर्थिक विपन्नताको सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री अधिकारीले प्रदेशका कुनैपनि व्यक्तिले आर्थिक अभावमा स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भनेर निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको बताईन् । ‘नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने सरकारको प्रयास हो’–उनले भनिन् ।

दिनका लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रगत तथा रगतजन्य सेवा निःशुल्क कार्यविधि २०७८ बनाएको थियो । सो कार्यविधिलाई गण्डकी प्रदेश सरकारको गत सोमबार बसेको मन्त्री परिषद बैठकले पारित गरेको थियो ।

यसअघी प्रदेश सरकारले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायतमा सहीद, घाईते, अपाङ्ग तथा बेपत्ता परिवारलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । मन्त्री अधिकारीकै पहलमा भएको उक्त निर्णय अहिले लागु भइसकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।