महावीर पुनलाई प्रदेश सरकारको ‘गण्डकी रत्न’ सम्मान


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०७८ मा प्रकाशित




पोखरा, फागुन ४

गण्डकी प्रदेश सरकारले राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुनलाई प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मानबाट सम्मान गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको मंगलबार बसेको मन्त्री परिषद बैठकले पुनलाई ‘गण्डकी रत्न’ सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको हो ।

यसअघी प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मानका लागि आवेदन माग गरेको थियो । तर योग्य व्यक्तिले आवेदन नदिएपछि पुनलाई ‘गण्डकी रत्न’ सम्मानका लागि गरिएको प्रस्तावलाई मन्त्री परिषद बैठकले पारित गरेको बताइएको छ ।

प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मानलाई प्रदेशकै सर्वाधिक सम्मान भनेर बताएको छ । सम्मानित व्यक्तिलाई सरकारले प्रदेश सभा सदस्य बराबरको हैसियत दिएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले बताए । ‘गण्डकी रत्न’बाट सम्मानितलाई राज्यले तक्मा र प्रमाणपत्र दिनेछ भने सम्मानितलाई सार्वजनिक सभा, समारोहमा प्रदेश सभा सदस्य सरहको मान्यता र सुविधा दिने जनाइएको छ ।

त्यस्तै, सम्मानितलाई प्रदेश अस्पतालमा निःशुल्क उपचार, सम्मानित व्यक्ति जीवनको उत्तरार्धमा संरक्षण विहीन भएको खण्डमा निजको संरक्षणको दायित्व सरकारले लिने, सार्वजनिक सेवाको क्षेत्रमा सम्मानितलाई प्राथमिकता दिने, प्रदेश भित्रका विमानस्थलमा अतिविशिष्ट कक्ष प्रयोग गर्न दिनेलगायतका सुविधा दिइने मन्त्री खड्काले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।