विश्व कप क्रिकेट छनौट : आयोजक ओमानलाई हराउँदै नेपालको बिजयी शुरुवात


     एभरेस्ट आवाज    
     फागुन ६ गते २०७८ मा प्रकाशित




आइसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले सुखद सुरुवात गरेको छ । ओमानको अलअमिरात मैदानमा आज भएको खेलमा नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गर्दै बिजयी भएको हो । बलरहरु चम्किदा नेपाल पहिलो खेलमा जित हात पार्न सफल भयो । नेपालका लागि कमल सिंह ऐरी ३ विकेट, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २÷२, अविनाश बोहरा र जितेन्द्र मुखियाले १र१ विकेट लिए ।

आयोजक ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो व्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षेतिमा ११७ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको ओमानले १७ ओभरमा सबै विकेट गुमाएर केवल ७१ मात्र रन बनाउन सक्यो ।

नेपालले आजको जितसँगै २ अंक जोडेको छ । अब नेपालले सेमिफाइनल पुग्न क्यानडा वा फिलिपिन्समध्ये एकलाई हराए पुग्नेछ।

यसअघी ग्लोबल क्वालिफायर खेल्नु अघि ओमानमा भएको ४ देशीय टी–२० शृंखलामा पनि नेपालले ओमानलाई हराएको थियो। तर, यूएई र आयरल्यान्डसँग पराजित बनेको थियो। ग्लोबल छनोटबाट फाइनलमा पुग्ने २ टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्नेछन्।

ग्लोबल छनोटमा ८ देश सहभागी छन्। ती देशहरुलाई २ समूहमा विभाजन गरिएको छ। आयरल्यान्ड, यूएई, बहराइन र जर्मनी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ मा छन्। नेपालले भोलि फिलिपिन्ससँग खेल्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।