नयाँ दिल्ली । भारतको अहमदावादमा भएको बम विस्फोटनको घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्यु दण्डको फैसला गरिएको छ ।
गुजरातको विषेश अदालतले सन् २००८ मा भएको घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई शुक्रबार मृत्युदण्डको फैसला सुनाएको हो ।
घटनामा दोषी दावी गरिएको ४९ जनालाई जेलमा राखिएकोमा ३८ जनालाई मात्रै मृत्युदण्डको फैसला सुनाइएको अधिकारीहरूले जनाएका छन् ।
उनीहरूका अनुसार श्रीङ्खलाबद्ध बम विस्फोटनको घटनामा संलग्न बाँकी ११ जनालाई भने आजीवन कारावासको सजाय तोकिएको छ ।
घटनामा दोषी ठहरिएका सबैले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न पाउने विकल्प भने अझै पनि बाँकी नै छ ।
अहमदाबाद बमकाण्डमा ७८ जनाविरुद्ध मुद्दा चलाइएकोमा २८ जनालाई भने अदालतले सफाइ दिएको छ ।
उनीहरूले सन् २००८ को जुलाई २६ मा ७० मिनेटको अवधिमा आवासीय क्षेत्र, बजार, सार्वजनिक यातायात, अस्पताल लगायतका क्षेत्रमा २१ बम विस्फोटन गराएका थिए ।
सो श्रीङ्खलाबद्ध विस्फोटनको घटनामा परी ५६ जनाको मृत्यु भएको थियो भने अरु २०० भन्दा बढी घाइते भएका थिए । त्यतिबेला विस्फोट नभएका थुप्रै बमहरू पनि फेला पारिएको प्रहरीले जनाएको थियो ।
घटनाको जिम्मेवारी भारतले आतङ्कवादी घोषणा गरेको इस्लामिक समूह, हर्कत–उल– जिहाद–अल इस्लामीले लिएको थियो । रासस/एएनआई
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







