मनाङमा आइतबारदेखि पुनःहिमपात, यातायात अवरुद्ध


     एभरेस्ट आवाज    
     फागुन ९ गते २०७८ मा प्रकाशित




मनाङ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ । आइतबार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो । करिब १५ दिनअघि भएको हिमपातपछि अवरुद्ध सडक खुलाउन नपाउँदै आइतबारदेखि पुनःहिमपात भएको छ । आइतबारदेखि हिमपातपछि यातायात सञ्चालन हुन सकेको छैन । यहाँको सडकको हिउँ हटाउन नपाउँदै हिमपात भएसँगै समस्या भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार मनाङको चामे र यस वरपरको तापक्रम माइनस ७ डिग्री सेल्सियस पुगेको छ । “यहाँ पुनःहिमपात भएपछि सवारीसाधन चल्ने अवस्था छैन ।

भारी हिमपातले सवारी आवागमन अवरुद्ध भएको छ”, आचार्यले भने, “जनजीवन भने सामान्य रहेको छ ।” मनाङ ङिस्याङ गाउँपालिकाको खाङ्सार, टङ्की र मनाङ च्याखु, भ्राका, मुङ्जे, घ्यारु, ङाबल, हुम्डे, पिसाङ, नार्पाभूमि गाउँपालिकाको नार, फू, क्याङ तथा च्याखु गाउँका साथै सदरमुकाम चामे बजार क्षेत्रसहित कोतो, थानचोक, तिमाङ र नासों गाउँपालिकाको तिल्चे, नाचे, ताचे, ओडार गाउँ, घेराङ गाउँ, घेलाञ्चोक गाउँ, थोंचे, धारापनी र तालगाउँमा भारी हिमपात भएको छ । पहाडी क्षेत्रमा वर्षा भएकाले जिल्लामा अझै पनि हिमपात हुनसक्ने देखिएको छ । हिमपात एवं चिसोबाट बच्न र सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयले सूचना जारी गरी स्थानीयवासीलाई अनुरोध गरेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।