भोलिदेखि फेवातालको पानीको सतह घटाइने


     एभरेस्ट आवाज    
     फागुन ९ गते २०७८ मा प्रकाशित




पोखरा, फागुन ९

नेपालकै प्रमुख पर्यटकीय केन्द्र पोखराको फेवातालको पानीको सतह घटाइने भएको छ । फेवातालको निकासका लागि बनाइएको कल्भर्ट फराकिलो बनाउन फेवातालको पानीको सतह करीब ३ महिना घटाउने तयारी गरिएको हो ।

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीले पोखरा–१७ विरौटाचोकमा रहेको नहरको कल्भर्ट फराकिलो बनाउनका लागि फागुन १० गते मंगलबारदेखि आगामी २०७९ साल बैशाख ३० गतेसम्म फेवातालको पानी घटाउन लागेको जनाएको छ । कार्यालय प्रमुख ई.किरण आचार्यले कल्भर्ट फराकिलो बनाउन सडक डिभिजन कार्यालय पोखराले कल्भर्ट फराकिलो बनाउनका लागि तालको पानीको सतह घटाउन माग भइआए बमोजिम तालको पानीको सतह घटाउन लागेको बताए । ‘कल्भर्ट निर्माण कार्यमा सहजीकरणका लागि तालको पानीको सतह घटाउन लागिएको हो’–उनले भने ।

शुरुमा नहरको गेट बन्द गरेर कल्भर्ट फराकिलो गर्ने प्रयास गरिएको थियो । तर नहरको गेट बन्द गरेपनि पानी ओभरफ्लो भई बग्न थालेपछि सडक डिभिजन कार्यालयले तालको सतह नै घटाउन माग गरेको थियो । सडक डिभिजन कार्यालयको माग बमोजिम सिंचाई डिभिजन कार्यालयले अनुमति दिएपछि तालको सतह घटाउने तयारी गरिएको आचार्यले बताए ।

यस वर्ष तालको २० सेन्टिमिटर बाँध मात्र खोलिने आचार्यले जानकारी दिए । उनका अनुसार २० सेन्टिमिटर बाँध खोल्दा ५ करोड लिटर पानी घट्नेछ ।

यसअघी गत वर्षपनि फेवातालको पानीको सतह घटाइएको थियो । तालको पूर्वीय क्षेत्रमा बनाइएको बाँधको मर्मत गर्नका लागि गत वर्षको माघको तेश्रो हप्तादेखि तालको पानीको सतह घटाइएको थियो । त्यसबेला करीब ६ करोड लिटर पानी घटाइएको थियो । जसका कारण फेवातालको सतह घटेर तालको मध्य भागमा रहेको तालवाराही मन्दिर नजिकैसम्म हिंडेरै जान सकिने अवस्था बनेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।