पहाडको विकासका लागि प्रदेश सरकार अग्रसर छ: मुख्यमन्त्री पोखरेल


     एभरेस्ट आवाज    
     फागुन १० गते २०७८ मा प्रकाशित




डेढगाउँ । प्रदेशको सिमाना निर्धारण हुँदा नवलपरासी जिल्लाको दाउन्नेदेखि पूर्वको भूभाग गण्डकी प्रदेशमा प¥यो । अर्थात् नवलपरासी जिल्ला टुक्रिएर दुई जिल्ला बनाइयो । १० जिल्ल्ला सावकिकै गण्डकी अञ्चलका थिए । भौगोलिक मात्र होइन भावनात्मक रुपमा पनि पोखरासँग नजिक थिए । प्रदेश मात्र होइन मुलुककै कान्छो जिल्ला नवलपुर भने भौगोलिक र भावनात्मक रुपमै पोखराबाट अलि परकोजस्तो भयो । जसको कारण थियो सडक मार्गको पहुँच ।

त्यसो त सरकारले कोरला त्रिवेणी सडकलाई प्रदेशकै ‘लाइफलाइन’ मानेको छ । यो सडक प्रदेश गौरवको आयोजना पनि हो । कोरलादेखि पोखरासम्म सडक सञ्चालनमा आए पनि भीमादबाट नवलपुर निस्कनका लागि कुन बाटोलाई पूर्णता दिने अन्योल थियो । गण्डकीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठबन्धन सरकार बनेपछि यो अन्योल सकिएको छ । नवलपुरको बौंदीकाली गाउँपालिकाको डेढगाउँ हुँदै हुप्सेकोटको झ्यालवास निस्कने सडक मंगलबार शिलान्यास गरिएको छ ।

पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख इन्जिनियर रवीन्द्र तिवारीका अनुसार मंगलबार शिलान्यास गरिएको सडकले तनहुँको मानपुर जोड्ने छ । मानपुरबाट भीमादसम्मको सडक कालोपत्रे भइसकेको छ । डेढगाउँ झ्यालवास सडक खण्ड २ लेन अर्थात् ७ मिटर चौडाइमा पिच हुने छ । पिचसहितको सडकको चौडाइ भने १० मिटर रहनेछ । यसको कुल लागत ५१ करोड अनुमान गरिएको छ । ३० महिनामा काम सम्पन्न गर्ने गरी ठेक्का भएको कार्यलय प्रमुख तिवारीले बताए ।

संविधान सभा सदस्य महेन्द्रध्वज जिसी, प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक ओमकला गौतम, विधायन समिति सभापति विष्णुप्रसाद लामिछाने, प्रमुख सचिव रवीलाल पन्थ, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले प्रदेशको आवश्यकता महसुस गरी विकासको काम अगाडि बढाइएको भनाइ राखे ।

उक्त अवसरमा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आले, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठ, हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, बौंदीकाली गाउँपालिका अध्यक्ष दुर्गाबहादुर राना, उपाध्यक्ष मायादेवी श्रेष्ठ, नेकपा एमाले जिल्ला सदस्य एवं बौंदीकाली गाउँपालिका इन्चार्ज श्यामसुन्दर श्रेष्ठ, नेपाली कांग्रेस पालिका सभापति केबी रानाले स्थानीय आवश्यकताका बारेमा चर्चा गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।