विश्वकप खेल्ने नेपालको सपनामा युएई तगारो बन्यो


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०७८ मा प्रकाशित




टी–२० विश्वकप खेल्ने नेपालको सपना अधुरो बनेको छ।

आईसीसी ग्लोबल टी–२० विश्वकप छनोटबाट नेपाल मंगलबार बाहिरिएपछि टी–२० विश्वकप खेल्ने नेपालको सपना अधुरो बनेको हो।

नेपालले आईसीसी ग्लोबल टी–२० विश्वकप छनोटको अन्तिम आधार तय गर्न सकेन। अस्ट्रेलियामा हुने विश्वकप टी–२० २०२२ खेल्ने अवसरबाट नेपाललाई मंगलबार युएई तगारो बन्यो।

सन् २०१४ मा बंगलादेशमा भएको आईसीसी विश्वकप टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलेपछि नेपालले दोस्रो पटक विश्वकप खेल्ने सपना बुनेको थियो। तर, ओमानको अल इमिरात मैदानमा भएको सेमिफाइनलमा नेपाल मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग ६८ रनले स्तब्ध बन्यो। यूएईले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १७५ रनको विशाल योगफल तयार पारेको थियो।

प्रतियोगितामा नेपालले समूह चरणका ३ वटै खेल जितेर आउँदो अक्टोबर/नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेट खेल्ने संभावनाको संघारमा उभिएको थियो। समूह चरणमा नेपाल मात्र अपराजित एउटा त्यस्तो टिम थियो। त्यसैले, नेपाललाई अन्तिम चारमा यूएईलाई हराएर विश्वकपमा स्थान बनाउने आशा थियो। तर, नेपालले सपना बुनेजस्तो प्रदर्शनमा खरो उत्रन सकेन। सेमिफाइनलमा क्रिकेटका ३ वटै पक्ष ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर प्रदर्शन गरेपछि नेपाललाई यूएईले सजिलै हरायो।

चालू प्रतियोगिताबाट सेमिफाइनल जित्ने २ टिम विश्वकप टी–२० क्रिकेटमा चयन हुने प्रावधान छ। यूएईसँगै आयरल्यान्ड पनि सो गौरव हासिल गर्न सफल बनेको छ। अर्को सेमिफाइनलमा आयरल्यान्डले घरेलु टिम ओमानलाई ५६ रनले हरायो।

यसअघिका ३ खेलमा नेपालले विपक्षीलाई १०० रन पनि बनाउन दिएको थिएन। नेपालविरुद्ध क्यानाडा ८०, ओमान ७८ र फिलिपिन्स ८२ रनमा सीमित बनेको थियो। तर, नेपाली बलिङले महत्वपूर्ण खेलमा आफ्नो खरो प्रदर्शन गुमायो। अब, नेपालले तेस्रो स्थानका लागि बिहीबार ओमानविरुद्ध खेल्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।