बर्दघाट । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चैते धान रोपाइँ सुरु भएको छ । धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागबानी विकास अधिकृत शङ्कर पौडेलले धानको पकेट क्षेत्र लागू भएको गैँडाकोट–११ को भेँडाबारीमा चैते धान रोपाइँ सुरु भएको बताए ।
धान पकेट क्षेत्र लागू गरिएको पुरानो स्थानमा प्रति पकेट रु २४ लाखसम्म तथा नयाँ क्षेत्रमा रु १२ लाखसम्म अनुदान दिइने गरेको बागबानी विकास अधिकृत पौडेलले बताए । केन्द्रले चैते धान उत्पादन हुने, सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गर्दै चैते धानको उत्पादनमा किसानलाई प्रोत्साहन गर्दै आइरहेको उनको भनाइ छ ।
पकेट क्षेत्र लागू भएका स्थानमा किसानको लागत सहभागितामा सिँचाइ, मल, बीउ, यान्त्रिकीकरणलगायतमा अनुदान दिने गरेको अधिकृत पौडेलले बताए ।धानको पकेट क्षेत्र हुनका लागि एकै ठाउँमा १५० हेक्टर जमिनमा धानखेती गरिएको हुनुपर्ने उनको भनाइ छ । जिल्लामा चैते धान उत्पादनका लागि पकेट क्षेत्र निर्माण गरेसँगै चैते धानतर्फ किसानको आकर्षण बढ्दै गएको पौडेलले बताए ।
गतवर्ष ७०० हेक्टरमा रोपाइँ भएको चैते धान यसवर्ष ७५० हेक्टर क्षेत्रफलमा हुने विश्वास गरिएको उनको भनाइ छ । यसवर्ष कावासोती–१४ लाई धानको पकेट क्षेत्रको रुपमा समावेश गरिएका कारण पनि चैते धान लगाउने क्षेत्रफलमा वृद्धि हुने भएको छ । केन्द्रसँगै त्यहाँका विभिन्न स्थानीय तहले धान उत्पादनको वृद्धिका लागि यसको पकेट क्षेत्र सञ्चालन गरेर किसानलाई सिँचाइ, मल, बीउ र यान्त्रिकीकरणमा सहयोग गर्दै आइरहेको छ ।
जिल्लाको कावासोती, गैँडाकोट, मध्यविन्दु, विनयी त्रिवेणी र बुलिङटारमा चैतधान उत्पादन हुँदै आएको छ । जिल्लामा विशेषगरी चैते धानका रूपमा हर्दिनाथ–१, टाइचिन, स्थानीय अनदी, सिएच ४५ जातको धान रोप्ने गरिएको अधिकृत पौडेलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







