बालुवाटारमा कांग्रेस र एमालेबीच छलफल


     एभरेस्ट आवाज    
     फागुन १२ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच संसद्को गतिरोध अन्त्य र राजनीतिक निकासबारे छलफल भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेरअघिदेखि जारी छलफलमा कांग्रेस र एमालेका अन्य नेताहरु पनि छफलमा सहभागी छन् । आज दिउँसो १ बजे बोलाइएको संसद् बैठक सूचना टाँस गरी स्थगित भए पछि सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेका हुन् ।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्रीले प्रतिपक्षी दलसँग छलफल अघि बढाएका हुन् ।

छलफलमा प्रधानमन्त्री देउवासहित सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगनकुमार थापा छन् भने एमालेका तर्फबाट अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन् । एमसिसीमा सत्तारुढ दलबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी दल एमालेसँग छलफल गर्दै आएका छन् ।

प्रतिनिधिसभाको बैठक यही फागुन १३ दिउँसो १ बजे बस्ने भएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।