ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि ९ नाउर र ७ झारलको सिकार कोटा तोकेको छ।
प्रतिस्पर्धाबाट सिकार गराउन विभागले बुधबार दरभाउपत्र आह्वान गरेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिएका छन्। सिकार खेलाउन ईच्छुक कम्पनीले १५ दिनभित्रमा विभागमा दरभाउपत्र बुझाउने छन्।
बोलपत्रको प्रक्रियाबाट छानिएपछि मात्र कम्पनीले सिकारका लागि अनुज्ञापत्र पाउने प्रमुख संरक्षण अधिकृत कँडेलको भनाई छ। गत सिकारयाममा नेपाल ट्राभल एक्पिडिशन, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्याक एण्ड ट्रेल्र्स, हिमालयन सफारिज र ग्लोबल सफारिजले सिकार खेलाएको थियो।
यसपालि पनि यिनै कम्पनीबीच प्रतिस्पर्धा हुने ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्सेर पराजुलीले बताएका छन्। बोलपत्रमा हुने प्रतिस्पर्धापछि बल्ल कम्पनीले पाउने सिकारको कोटा र दर थाहा हुन्छ। सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजस्व दर घटबढ हुने गर्छ।
कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहँदैनन्। माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन्। ३ वर्षअघि (फागुन–वैशाख)को याममा एउटा नाउर सिकारको १३ लाख ५१ हजार र झारल सिकारको १३ लाख ५० हजार रुपैयाँसम्म राजस्व बुझाउन कम्पनीहरु तयार भएको थियो।
आरक्षमा वर्षेनी (असोज–मंसीर), (फागुन–वैशाख) गरी २ याममा नाउर र झारलको सिकार खुला हुन्छ। विभागले दुवै याममा गरी वर्षमा जम्मा २० नाउर र ११ झारलको सिकार कोटा निर्धारण गर्ने गर्छ। गत सिकारयाममा १० नाउर र ६ झारलको सिकार कोटा छुट्याइए पनि ९ नाउर तथा ३ झारलको मात्र सिकार गरिएको थियो।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







