सेनाको तीनदिने बृहद् प्रदर्शनी सुरु


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०७८ मा प्रकाशित




काठमाडौ । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर तीनदिने बृहद् प्रदर्शनी आयोजना गरेको छ ।

प्रदर्शनीमा नेपालका सेना नायक लगायतका तस्बिर, सैनिक ब्यान्ड, हातहतियार, उपकरण, पोसाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा सहभागितासम्बन्धी विषयवस्तु समेटिएको छ ।

राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेना सहभागिता, विशेष फौज, एकीकरण पदमार्ग जगेर्ना, पदिक फौज र मद्दति अङ्ग, घोडचढी तथा भैैरव वहान गुल्म, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण सुरक्षा गतिविधिबारे प्रदर्शनी अवलोकन गरी जानकारी लिन सकिनेछ ।

सेनाले फागुन १७ गते महाशिवरात्रिका दिन सेना दिवस मनाउँदैछ । निःशुल्क प्रवेशको सुविधा रहेको सैनिक केन्द्रीय पुस्तकालय अगाडि मैदानमा तीन दिनसम्म बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

प्रधानसेनापति प्रभुराम शर्माले प्रदर्शनीको अवलोकनपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै गैरसैनिक नागरिक र विद्यार्थीलाई नेपाली सेनाको सङ्गठन, जिम्मेवारी, उपकरण, सैनिक नागरिक सम्बन्ध लगायतका विषयमा जानकारी लिने सन्दर्भमा निकै ज्ञानवद्र्धक रहने विश्वास व्यक्त गरे ।

प्रधानसेनापति शर्माले सैनिक नागरिकको सम्बन्ध, नागरिकले सेनालाई सहयोग पु¥याउन सक्ने क्षेत्र र विषय, विपद्का बेला उपकरणको उचित प्रयोगबारे जानकारी दिने उद्देश्य रहेको प्रदर्शनी अवलोकनबाट बहुपक्षीय फाइदा लिन सकिने उल्लेख गरे । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले सेनाबारे समाजका विभिन्न तह र तप्काका व्यक्तिलाई बुझ्न सहयोग मात्र होइन, सैनिक इतिहास बुझ्न सबैका लागि ज्ञानवद्र्धक हुने विश्वास व्यक्त गरे ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।