पोखरामा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना भएको छ ।
पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)ले गीत, संगीतका धरोहर, राष्ट्रिय गानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको नाममा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना गरेको हो ।
प्रत्येक दुई/दुई वर्षमा अर्पण गरिने उक्त पुरस्कारको राशी नगद दुई लाखसहित ताम्रपत्र र दोसल्ला रहने पुरस्कार स्थापना समितिका संयोजक सरुभक्त श्रेष्ठले जानकारी दिए । पुरस्कार आगामी वर्षदेखि अर्पण गर्न शुरु गरिने उनको भनाई छ ।
नेपाली गीत, संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान दिनेमध्ये एक जनालाई छनौट गरी पुरस्कार प्रदान गरिने जनाइएको छ । ‘श्रष्टा चाहे देश भित्रको होस् वा देश बाहिरको, नेपाली होस् वा नेपाली मूलको । तर उसले नेपाली गीत संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको छ भने उ पुरस्कारको हकदार हुनसक्छ’–संयोजक सरुभक्तले भने । उनका अनुसार लेखन, गायन, संगीत र वाद्यबादनको कुनै एक क्षेत्रमा वा बहुविधामा योगदान गरेकाले पुरस्कार प्राप्त गर्नेछन् ।
२० लाखको अक्षयकोषमार्फत पुरस्कार सञ्चालन गरिने संयोजक सरुभक्तले बताए । अक्षयकोषमा हालसम्म करीब ११ लाख रुपैयाँ संकलन भइसकेको उनले जानकारी दिए । बाँकी रकम स्वेच्छि आह्वान गरिएको उनको भनाई छ । कोषको बिउपुँजीको रुपमा भेट्रान ग्रुप हङकङले गायक तथा संगीतकार विक्रम गुरुङको ‘मेरो संगीत यात्रा’बाट संकलन गरेको ५ लाख र पोखरेली मञ्च युकेले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको ‘सिर्जनाको घेराभित्र सरुभक्त’ कार्यक्रमबाट संकलन गरेको दुई लाख पचास हजार प्राप्त भएको उनले बताए ।
स्वर्गिय गुरुङलाई कालजयी र चीरस्थायी बनाउनका लागि उनको सम्मान स्वरुप पुरस्कार स्थापना गरिएको पुरस्कार स्थापना समितिका सह–संयोजक तीर्थ श्रेष्ठले बताए । ‘अमर गुरुङले नेपाली गीत, संगीतको क्षेत्रमा दिएको योगदानको उच्च गर्दै उनको योगदानको सम्मान स्वरुप पुरस्कार स्थापना गरिएको हो’–उनले भने । अमरप्रति श्रद्धासुमन तथा अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्ने पुरस्कार स्थापनाको उद्धेश्य रहेको उनले बताए । उनले अक्षयकोष बृद्धि भएमा पुरस्कारको राशी तीन लाख पु¥याउने योजना रहेको बताए ।
अम्बर गुरुङले गीत, संगीतको क्षेत्रमा उच्च स्तरको पुरस्कार स्थापना होस् भन्ने चाहना राख्ने गरेको संयोजक सरुभक्तले बताए । तर आफ्नै नाममा रहोस् भन्ने चाहना भने नदेखाएको उनको भनाई छ । ‘अम्बर गुरुङको चाहनाले नभई उनको योगदानको कदर गर्न हामीले पुरस्कार स्थापना गरेका हौं’–उनले भने ।
अम्बर गुरुङको जन्म वि.सं.१९९४ साल फागुन १५ गते बुबा उजीरसिंह गुरुङ र आमा रेणुका गुरुङका सुपुत्रका रुपमा भएको थियो । जन्म दार्जिलिङमा भएपनि अम्बर गुरुङको पुख्र्यौली थलो गण्डकी प्रदेशको तनहु जिल्लामा भएको पोखरेली युवा सांस्कृतिक परिवारले जनाएको छ । ‘नौ लाख तारा उदाए’ गीतबाट गीत,संगीतको यात्रा शुरु गरेका अम्बर वि.स.२०२६ सालमा संगीत विभागका प्रमुखका रुपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेका थिए । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको गीति नाटक ‘कुञ्जिनी’ र ‘मुनामदन’मा संगीत संयोजन गरेका थिए । उनी राष्ट्रगानका संगीत सर्जक पनि हुन् ।
स्वर्गिय अम्बर गुरुङ पोखरासँगपनि निकट रहेको सह–संयोजक श्रेष्ठले स्मरण गरे । पोखराका हरेक सांगीतिक, सांस्कृतिक कार्यक्रममा उनको सहभागिता र रुची रहने गरेको उनको भनाई छ ।
पोखरेली युवा सांस्कृतिक परिवारले साहित्यतर्फ ‘शिरोमणी पुरस्कार’, गीत, संगीततर्फ ‘सोम बज्राचार्य स्मृति पुरस्कार र ललितकलातर्फ ‘ललितकला पुरस्कार’ सञ्चालन गर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । कक्षा…






