नेपाल बन्द

- पोखरा लगायत बुटवलका बजार क्षेत्र ठप्प। सवारी साधन तोडफोड। काठमाण्डौंमा बन्दकर्ताहरु पक्राउ


     एभरेस्ट आवाज    
     फागुन १६ गते २०७८ मा प्रकाशित




६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज (सोमबार) नेपाल बन्दको आब्हन गरेका छन्।

देउवा सरकारले राष्ट्रको हितविपरीत एमसीसीलाई रातारात पारित गर्ने षडयन्त्र गरिएको भन्दै नेपाल बन्दको घोषणा गरेको कम्युनिष्ट पार्टी र मोर्चाले जनाएको छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी(मसाल), नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्तिक मोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेपाल माओवादी केन्द्र समाजवादी छन्।

पोखराका मुख्य बजार क्षेत्रका पसलहरू प्रायजसो बन्द रहेका छन्। बन्दमा कुनैपनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरूमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई मजबुत पारिएको र पोखरा लगायत कास्कीमा हालसम्मको अवस्था सामान्य रहेको कास्की प्रहरीले जनाएको छ।

बन्द गराउन हिँडेका आधा दर्जन व्यक्तिलाई काठमाण्डौंमा पक्राउ गरेको प्रहरीले जनाएको छ। काठमाडौांका विभिन्न विभिन्न ठाउँबाट ती बन्दकर्ताहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको हो।

बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन्। त्यस्तै चाबहिल र कलंकीमा ३ वटा बसमा तोडफोड गरिएको प्रहरीले जनाएको छ।

बिहान ५ बजेको समयमा बन्द आह्वानकर्ताहरुले चाबहिलमा काठमाडौंबाट उदयपुर र सिन्धुली चल्ने दुई वटा सवारी साधनमा ढुंगा प्रहार गरेका छन् । प्रहारबाट बा.४ ख ७५१८ र बा.३ ख ४४२६ नम्बरका सवारी साधनहरुको पछाडिको सिसा फुटेको छ।

बन्दका कारण बुटवलमा बिहानैदेखि सडकमा सवारी साधन चलेका छैनन्। फाट्टफुट्ट रूपमा मोटरसाइकल र अटो रिक्सा चले पनि सार्वजनिक सवारी साधन भने ठप्प छन्। बुटवल बजारका पसलहरु पनि खुलेका छैनन्।

नेपाल बन्दमा कुनैपनि कार्यालय, विद्यालय संघ संस्था,व्यापार व्यवसाय तथा अफिसहरु संचालन गर्न नदिने जनाइएको छ।

अत्यावश्यक कामको लागि प्रयोग गरिने सवारी साधन एम्वुलेन्स, दमकल, दूध वोक्ने गाडी, पानी बोक्ने गाडी, विवाहका गाडी संचालन गर्न दिने बताएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।