युक्रेनद्धारा रुस विरुद्ध १ लाख सेना परिचालन


     एभरेस्ट आवाज    
     फागुन १६ गते २०७८ मा प्रकाशित




रुसले युक्रेनमा आक्रमण जारी राखेपछि त्यसका विरुद्धमा युक्रेनले पनि कम्तीमा पनि १ लाख सेना परिचालन गरेको जनाएको छ । रुसले आइतबार चौथो दिन पनि आक्रमण जारी राखेको बताइएको छ ।

त्यस्तै आइतबार राति पनि स्थल सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गरेका थिए । त्यहाँका सेना प्रमुख भेलरी जालुज्नीले सो कुराको जानकारी दिए । उनले फेसबुकमार्फत् भन्नुभएको छ– युक्रेनले १ लाख भन्दा बढी सैनिक परिचालन गरेको छ र तीमध्ये अधिकांश सीमा सुरक्षा क्षेत्रमा कार्यरत सेना रहेका छन् ।

अहिले पनि रुसको सेनाले युक्रेनको राजधानी किभ सहर घेरा हालेका बताइएको छ । रुसले आफूलाई पक्राउ गर्न खोजेको तर सफल नभएको युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्की बताएका छन् । रुसले आक्रमण गरेको आज चौथो दिन रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन् । राजधानी किभको उत्तरी भेगमा रुसी सेना पुगेको युक्रेनले जनाएको छ ।

त्यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरुमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ । यसअघि युक्रेनले पूर्ण रुपमा सेना परिचालन गरेको बताएको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँ आम रूपमा सेना परिचालनको आदेश दिएका छन् । त्यहाँका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ । उता रुसले आत्मसमर्पण गर्न युक्रेनी राष्ट्रपतिलाई भनेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।