१२ वर्षमाथिका सबैले कोरोनाविरुद्धको खोप लगाए


     एभरेस्ट आवाज    
     फागुन १६ गते २०७८ मा प्रकाशित




रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–१२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । नगरपालिकाका लक्षित उमेरका सबै नागरिकले पूर्ण खोप लगाएका हुन् ।

यो नगरपालिका कोरोनाविरुद्ध पूर्ण खोप लगाउनेमा पहिलो पालिका बनेको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । नगरपालिकाका १२ वर्षमाथिका एक लाख २८ हजार ५३० जनाले उक्त लगाएका र खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० र १८ वर्षदेखि माथिका ८१ हजार ८८६ जना छन् ।

लक्षित जनसङ्ख्या ९५ हजार ९६६ रहेकामा लक्षितभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका थिए । नगरपालिकाभन्दा बाहिरका व्यक्तिले समेत यहाँका स्वास्थ्य संस्थामा खोप लगाएका स्वास्थ्य शाखाले जनाएको छ । परिवारको सर्वेक्षण गरेर छुटेका सात हजार ७७ जनालाई खोप लगाइएसँगै यो नगरपालिका कोरोनाविरुद्धको खोपमा सुनिश्चित भएको हो ।

खोप लगाउन बाँकी रहेका व्यक्ति पहिचान गर्न नगरपालिकाले स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाका पदाधिकारी सम्मिलित घरधुरी सर्वेक्षण टोली परिचालन गरेको थियो । टोलीले पहिचान गरिएका व्यक्तिलाई खोप लगाएपछि आइतबार जिल्ला खोप समन्वय समितिलेसमेत अनुगमन गरेर तिलोत्तमालाई पूर्णखोप सुनिश्चित पालिका ठहर गरेको स्वास्थ्य शाखाले जनाएको छ ।

घरधुरी सर्वेक्षणबाट पत्ता लगाइएका छुट भएका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालयबाट ल्याएर खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेलले बताए।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।