पार्टीहरुमा आन्तरिक लोकतन्त्रको खाँचो छ –युवा नेताहरु


     एभरेस्ट आवाज    
     फागुन १७ गते २०७८ मा प्रकाशित




काठमाडौ । प्रमुख तीन राजनीतिक दलका युवा नेताले राजनीतिक दलहरुभित्रै आन्तरिक लोकतन्त्रको खोजी गर्न, राजनीतिमा सीमित वर्गको हालिमुहाली हुने प्रवृत्ति अन्त्य गर्न र राजनीतिलाई पेशाको रुपमा लिने परिपाटीे अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

फ्रेडरिक इबर्ट स्टिफ्टुङको आयोजनामा आगामी निर्वाचनले लोकतन्त्रलाई कसरी सवलीकरण गराउन सकिन्छ भन्ने छलफलमा उनीहरुले यस्तो बताएका हुन् । युवा नेताहरुले भूराजनीतिलाई ख्याल नगरी क्षणिक स्वार्थमा बहकिने प्रवृत्तिले मुलुकलाई दुर्घटनामा धकेल्न सक्ने र निर्वाचन प्रणाली महँगो हुन पुग्दा राजनीतिमा सीमित उच्च वर्गको प्रभुत्व भएको गुनासो गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिँह महरले आफ्नै पार्टीको १४औँ महाधिवेशनले ज्येष्ठ, युवा र नवयुवा गरी तीन पुस्ताको प्रतिनिधित्व गरेको र यसले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको नवीन सोचका आधारमा पार्टीलाई अझ गतिशील बनाउन सहयोग पुगेको बताए । उक्त महाधिवेशनमा आफूले कांग्रेसको सशक्तीकरण र भावी कार्यदिशकाका विभिन्न १४ वटा एजेण्डा अगाडि सारेको उल्लेख गर्दै उहाँले पार्टीको घोषणापत्रको पूर्ण कार्यान्वयनका लागि आफूले आवाज उठाउने प्रतिबद्धता जनाए ।

नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले समाजवादलाई देशका सबै पार्टीले आफ्नो घोषणापत्रमा राखेको र संविधानमा पनि समाजवादोन्मुख अर्थतन्त्रमा जाने उल्लेख भए पनि अहिलेसम्म यस विषयमा कुनै बहस र छलफल नहुँदा जनताले परिवर्तनको अनुभूति गर्न पाएका नपाएको बताए । नेता न्यौपानेले नेपालका राजनीतिक पार्टीका नेतृत्वमा स्वतन्त्ररुपमा निर्णय गर्नसक्ने क्षमता नभएको टिप्पणी गर्दै राजनीतिक नेतृत्वलाई औपचारिकताबाट वास्तविकतामा रुपान्तरण गर्न नसकिएसम्म मुलुकलाई अग्रगामी दिशातर्फ लैजान नसकिने बताए ।

नेकपा९एमाले० की केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले आफ्नो पार्टीमा पहिलो पुस्ताले आफूलाई लायक प्रमाणित गर्न नसकेको, दोस्रो पुस्ता असफल देखिएको र तेस्रो पुस्ता पनि राम्रो होला भनेर विश्वास गर्न सकिने अवस्था नरहेकाले आगामी दिनमा अझ समस्या आउनसक्ने बताए । उनले सबै पार्टीभित्र आन्तरिक लोकतन्त्रको खाँचो औँल्याउँदै सत्ता र शक्तिको भरमा राजनीति गर्न खोज्ने प्रवृत्ति अन्त्य नभएसम्म सामाजिक लोकतन्त्रको कल्पना गर्न नसकिने उल्लेख गरे ।

नेपाल तथा एशियाली अनुसन्धान केन्द्र ९सिनास० का कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले केही समयअघि मुलुककमा प्रमुख राजनीतिक पार्टीको आन्तरिक निर्वाचनले संविधानलाई गतिशील बनाउन मद्दत पुग्नाको साथै राजनीतिक स्थायित्व, लोकतान्त्रीकरण र पार्टीभित्रको लोकतन्त्रलाई बल पुगेको बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।