रुसमा आफ्ना सम्पूर्ण उत्पादनको बिक्री वितरण बन्द गर्ने विश्वको पछिल्लो महत्वपूर्ण कम्पनीमा ’एप्पल’ रहेको छ।
रुसबाट युक्रेनमा भएको आक्रमणको विरोध जनाउँदै चर्चित अन्तर्राष्ट्रिय कम्पनीहरूले धमाधम रुससँगको सम्बन्ध तोड्न थालेका छन्।
विशाल प्रविधि कम्पनी एप्पलले भनेको छ, ‘रुसी आक्रमणलाई लिएर हामी निकै चिन्तित छौँ। हिंसा भोग्न बाध्य सबैका पक्षमा यो कम्पनी उभिएको छ।’
यस कम्पनीले रुसमा ’एप्पल पे’ र अन्य सेवाहरू जस्तै ’एप्पल म्याप्स’ मा सीमित पारेको छ।
अर्को अन्तर्राष्ट्रिय ब्रान्ड ’नाइकी ’ले युक्रेन द्वन्द्वबारे कुनै पनि टिप्पणी गरेको छैन। तर, रुसमा ग्राहकहरूले अनलाइनमार्फत यसका उत्पादनको अर्डर गर्न नसक्ने भएका छन्। स्वचालित सन्देशले ’रुसमा ग्राहकहरूलाई सामान उपलब्ध गराउने ग्योरेन्टी दिन नसकिने भएकाले नाइकीले अनलाइन अर्डर लिन बन्द गरेको’ जनाएको छ।
यद्यपि, नाइकी वेबसाइटले ग्राहकहरूलाई नजिकैका स्टोरमा जान निर्देशन दिइरहेको छ। युक्रेनी विधायिका लेसिया सिलेन्काले स्पोर्ट्स वेयर कम्पनीले एउटा निजी कम्पनीले पनि रुसविरुद्ध कसरी नाकाबन्दी लगाउन सक्छ भन्ने ठूलो उदाहरण प्रस्तुत गरेको भन्दै ट्विट गरेकी छन्।
पछिल्ला केहि दिन यता उच्च कोटिका ब्रान्डहरू लगायत फिल्म स्टुडियो, कार निर्मार्ता र प्रविधि कम्पनीहरूले रुसमा आफ्ना कारोबार रोकेका छन्।
गुगलले पनि आफ्नो फिचरबाट रुसी सरकारी आर्थिक सहयोगमा संचालित आरटी जस्ता पब्लिसरहरू हटाएको छ। समाचार एजेन्सी रियाकाअनुसार रुसका मोबाइल बैंकिङ एपहरू जस्तै रुसको भीटीबी बैंकको एपले चाँडै नै एप्पलको आइओएस अपरेटिङ सिस्टमलाई आफ्नो उपकरणमा पूर्ण रूपमा चलाउन नसक्ने जनाएको छ।
एप्पलले एक विज्ञप्तिमार्फत भनेको छ, ‘युक्रेनी जनताको सुरक्षा र बचावटका लागि युक्रेनमा हाम्रो कम्पनीले एप्पल म्याप्सको ट्राफिक र प्रत्यक्ष घटनाहरू अवरुद्ध गरेको छ।’
गत साता युक्रेनका उपप्रधानमन्त्री मिखाइलो फेदोरोभले ट्विटरमार्फत एप्पललाई खुल्लापत्र लेख्दै रुसलाई आ्फना उत्पादन, सेवा र एप स्टोरबाट अलग पार्न अनुरोध गरेका थिए। रुसमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोनको सूचीमा एप्पलको आइफोन तेस्रो स्थानमा रहेको छ।
यसअघि, गुगलले रुसी सरकारको आर्थिक सहयोग प्राप्त न्युज फर्महरूमाथि युट्युबका केही फिचर र एडभरटाइजिङ टुल्समा रोक लगाएको थियो । साथै नाकाबन्दीको सूचीमा परेका बैंकसँगको कारोबारको सिलसिलामा गुगल पेलाई सीमित पारिएको छ। तर रुसमा गुगल पेलाई भने यथावत चल्न दिइएको छ।
यसैगरी, फिनिस नेटवर्क उपकरण निर्माता नोकियाले पनि रुसमाथि लगाइएको नाकाबन्दीलाई पालना गर्दै रुसतर्फ आफ्नो उत्पादन आपूर्ति रोक्ने जनाइसकेको छ।
सोमबार नेटफ्लिक्सले आफ्नो रुसी सेवामा सरकारद्वारा सञ्चालित कुनै पनि च्यानल राख्ने योजना नरहेको स्पष्ट पारिसकेको छ। विश्वको सबैभन्दा ठूला सिपिङ कम्पनीहरू जस्तै डेनिस मेर्स्क र जेनेभा स्थित एमएससिले रुसतर्फको दोहरो कन्टेनर सिपिङ कार्य रोकिसकेका छन्। बेलायतले पनि रुसबाट आउने जहाजलाई आफ्ना जलिय क्षेत्रमा छिर्न नदिने घोषणा गरेको छ।
विश्वमा विभिन्न सामान उपलब्ध गराउने सूचीमा रुस छैटौँ स्थानमा रहेको छ। अब रुसको महत्वपूर्ण सिपिङ व्यापार बन्द हुने भएको छ। विश्व प्रसिद्ध मोटरबाइक कम्पनी हार्ली–डेबिडसनले पनि रुससँगको आफ्नो व्यापार र सिपमेन्ट बन्द गरेको छ। यसैबीच, अमेरिकी विमान निर्माण कम्पनी बोइङ कोले मंगलबार आफूले रुसी एयरलाइनहरूलाई पाटपुर्जा, मर्मत र प्राविधिक सहयोग रोक्न लागेको घोषणा गरेको थियो।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







