मुस्ताङमा हिमहिरोका कारण १५ चौरी मरे


     एभरेस्ट आवाज    
     फागुन २१ गते २०७८ मा प्रकाशित




फाइल तस्विर

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर आज १५ वटा चौरी मरेका छन् । छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेका हुन् । शनिबार बिहानको हिमपहिरोमा परेर थप १० वटा चौरी हराएका कृषक गौचनले बताए ।

“चौरी बास बसेको खर्कमा बिहान ३ बजे हिउँपहिरो खसेको थियो”, उनले भने, “हिउँले पुरिएर चौरी मरेका हुन् ।” चौरी खर्कमा राखेर गोठाला कोवाङ झरेका थिए । बिहान गोठाला जाँदा चौरी मरेका भेटिएपछि खबर गरेका थिए । प्रहरी, कृषक र पशु सेवा प्राविधिकको टोलीले क्षतिको विवरण सङ्कलनका लागि घटनास्थलतर्फ गएका छन् ।

हिउँदमा जाडो छल्न बेशी झरेका चौरी गोठ गर्मी बढेपछि लेकतर्फ उकालिएको थियो । मानापाथी हिमालको फेदीमा रहेको छिप्लिङ, हेपिम, हुम्लुङ, पड्के, ह्याङ्लिङ, सरेका खर्कमा हिमपहिरो खस्ने गर्छ ।

गत कात्तिक २९ गते पनि मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो । मुस्लोसहित हिउँ पहिरो खसेपछि भाग्ने क्रममा कोवाङका अमरसिंह माविका नौ शिक्षक विद्यार्थी घाइते भएका थिए । नाउरीकोटका सकेन्द्र गौचन र भीम थकालीका २१ वटा याक र नाक मरेका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।