म्याग्दीको धौलागिरी गाउँपालिका–१ गुर्जास्थित ओमथान खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ।
लुलाङ हुँदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडाध्यक्ष झकबहादुर छन्त्यालले शुभारम्भ गरे।
पुलले गुर्जा आउ–जाउ सहज र सुरक्षित बनाउन सघाएको वडाध्यक्ष छन्त्यालले बताए। यसअघि सो ठाउँमा रहेको अस्थायी प्रकृतिको झोलुङ्गे पुल थियो। बर्खायाममा खोलामा बाढी आउँदा वारपार गर्न समस्या हुने गरेको थियो।
गाउँपालिकाका इञ्जिनियर सोबिन जिसीका अनुसार २८ मिटर लामो पुल निर्माणका लागि उपभोक्ता समितिसँग ३० लाख ९३ हजार ३५२ रुपैयाँमा सम्झौता भएको थियो। पुलबाट २५८ घरधुरी लाभान्वित भएका छन्। टीभीएसयुद्वारा संचालित स्वाप परियोजना, गाउँपालिका र समुदायको साझेदारीमा पुल निर्माण भएको हो। धौलागिरि गाउँपालिकामा गत वर्ष सुरु भएका ४ वटा स्टिल ट्रस र ३ वटा झोलुङ्गे पुलमध्ये ५ वटा सम्पन्न भएका इन्जिनियर जिसीले बताए। वडा नम्बर ६ मराङको अस्कारे खोलामा ३० लाख ५० हजार रुपैयाँको लागतमा ३५ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको थियो।
वडा नम्बर ४ नाउराको कोपिलाघाटमा ४० लाख ९४ हजार ४०५ रुपैयाँको लागतमा ६७ मिटर लामो झोलुङ्गे र वडा नम्बर २ को आवासखोलामा ३२ लाख ४१ हजार ८४९ रुपैयाँको लागतमा ३२ मिटर लामो ट्रस पुल निर्माण भइसकेको गाउँपालिकाका प्राविधिक दिलीप थापाले बताए। गुर्जाको धुनधुनाखोलामा पनि २८ मिटर लामो स्टिल ट्रस पुल निर्माण सकिएको छ।
मुनाको पुल्टिसखोला र मल्कवाङको खोलाखर्कको झोलुङ्गे पुल अन्तिम चरणमा छन्। पुल निर्माणका क्रममा सामाजिक तथा प्राविधिक सहजीकरण गैरसरकारी संस्था मिलन म्याग्दीले गरेको थियो।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







