टिप्पर दुर्घटना भएपछि दोविल्ला–फलेवास सडक अवरुद्ध


     एभरेस्ट आवाज    
     फागुन २५ गते २०७८ मा प्रकाशित




पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ र ११ जोड्ने मोदीखोला माथिको दोबिल्ला मोटरेबल पुलमा टिप्पर दुर्घटना भएको छ । पुलमा टिप्पर दुर्घटना हुँदा दक्षिण पर्वत जोड्ने दोविल्ला–फलेवास सडक अवरुद्ध बनेको छ ।

यो पुलले पर्वतको फलेवास नगरपालिका, पैयुँ, बिहादी र महाशिला गाउँपालिका जोड्छ । आज बिहान साढे ७ बजे अलकत्र लिएर सिल्मीबाट कुश्मातर्फ आउँदै गरेको ग१ख ८६४१ नंको टिप्पर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको स्थानीयवासी चित्रसागर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पुलको भार बहन क्षमता १५ टन मात्र भए पनि दिनहुँ क्षमताभन्दा दोब्बर लोड भएका करिब १०० भन्दा बढी टिप्पर यहाँबाट ओहोरदोहोर गर्ने बताए । पुलमा पल्टिएको टिप्पर निकाल्नका लागि प्रयास भइरहे पनि लोड बढी भएका कारण समस्या परेको प्रहरीले जनाएको छ ।

पुलबाट आवतजावत गर्न नपाउँदा फलेवासबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन सिल्मीमा रोकिएका छन् भने ग्रामीण भेगमा जाने सवारी साधन दोविल्लामा रोकिएका हुन् । सडक खुलाउनका लागि पहल भइरहेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । निर्माण भएको १५ वर्षसम्म पनि पुल मर्मत नहँुदा जीर्ण बन्दै गएको छ ।

पुलमा राखिएका फलामका पाता उप्किएका छन् भने पर्खाल तथा नट बल्टुहरुसमेत खुस्किएकाले बढी क्षमता भएको टिप्पर पल्टिएको हो । पुल मर्मतका लागि सवारीचालक र स्थानीयवासीले पटकपटक माग गर्दै आएको भए पनि सुनुवाइ हुन सकेको छैन । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।