बागलुङ । निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । तीन वर्षअघि देखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले रोकिएको काम अहिले पूरा भएको हो ।
चैत मसान्तभित्र काम सकेर हस्तान्तरणको तयारी छ । बागलुङ नगरपालिका–१४ को बलेवामा निर्माणाधीन विमानस्थल चैत मसान्तभित्र रङ्गरोगन सकेर प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी भएको सो आयोजनाका इन्चार्ज वासु थापाले जानकारी दिए । यो विमानस्थलमा साना तथा मझौला जहाज अवतरण गर्न सक्छन् । कालोपत्र गुणस्तरीय रुपमा गरिएको उनले जानकारी दिए ।
प्राधिकरणको रु आठ करोड २४ लाख ३४ हजारमा कालोपत्र गरिएको हो । बलेवा विमानस्थल सात सय मिटर लामो कालोपत्र गरिएको छ । प्राधिकरणका परियोजना व्यवस्थापक सत्यनारायण दुवालले विमानस्थलको नियमित अनुगमन गरेको बताए । यो विमानस्थल सञ्चालन भएमा बागलुङ, पर्वत र म्याग्दीका बासिन्दालाई राजधानी र भैरहवा लगायतका स्थानमा हवाई मार्गले जोड्नेछ । बलेवा क्षेत्रका नागरिकले श्रमदानबाट थालेर विसं २०१६ देखि २०१८ सम्म यो मैदान बनाएका थिए ।
आठ सय मिटर लामो यो विमानस्थलमा २०५० सम्म नियमित जहाज उड्थे । बलेवाबाट काठमाडौँ, पोखरा र भैरहवाका नियमित उडान भइरहेकामा पोखरा बागलुङ सडक खुलेपछि रोकिएको बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले बताए । विमानस्थलमा ७०० मिटर लामो पक्की नालीसमेत बनेको छ । मैदानमा एक हजार ५०० मिटर लामो घेराबार बनाइएको छ । एउटा मुख्य गेट र अर्को आपत्कालीन गेट तयार भएको छ ।
मैदानको सबै भाग एक किमी लामो छ तर हाल ७०० मिटर लामो क्षेत्रमा तारबार लगाइएको हो । मैदान ६० मिटर चौडा सम्याइएपछि १८ मिटर कालोपत्र भएको हो । यो विमानस्थल सञ्चालनका लागि बागलुङ बजारदेखिको आठ किमी सडक कालोपत्र गर्नुपर्ने स्थानीयवासी सुमन भुसालले बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







