सार्वजनिक जग्गा अतिक्रमणः अतिक्रमित जग्गा खोज्दै बेनी नगरपालिका


     एभरेस्ट आवाज    
     फागुन २६ गते २०७८ मा प्रकाशित




म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा सार्वजनिक जग्गा, पुल, सडक र खोल्सा अतिक्रमणमा परेका छन् । सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने दायित्व बोकेको बेनी नगरपालिकाले हटाउनुपर्ने अतिक्रमित संरचनालाई भाडामा लगाएर वैधता दिएको छ ।

सस्तोमा सम्झौता गरेको जग्गामा टहरा बनाएर महङ्गोमा भाडामा लगाउने प्रवृत्ति बढेको बेनीका पहलबहादुर खत्रीले बताए । बानी नगरपालिका–१० पात्लेखेतको आरसीयुपीको भवन धवलागिरि बोर्डिङ स्कुलले भाडा नतिरी प्रयोग गरेको छ । बेनीको क्याम्पस चोकको जग्गा पुरानो खोल्साले ओगटेको छ ।

त्यस क्षेत्रका अधिकांश घर सार्वजनिक जग्गामा बनेका छन् । बेनी अस्पतालको जग्गा मिचेर न्यू वेष्ट प्वाइन्ट आवासीय माविले सडक बनाएको छ । कालीपुलस्थित बालमन्दिर आधारभूतको जग्गा र नगरपालिका भवन पछाडिको जग्गा सुकुम्वासी र अव्यवस्थित बसोबासीको नाममा अतिक्रमण भएको छ ।

खाद्य संस्थानबाट किनेका जग्गा र बेनी नगरपालिकालाई दिएको चार आना जग्गाको भवन पनि व्यक्तिको कब्जामा छ । अख्तियारले निर्देशन दिए पनि गलेश्वरको रिभरसाइड होटल र हाडेभिरमा कुलदीप जुग्जालीले मोटरेबल पुल अतिक्रमण गरेर बनाएको टहरा हटाउन बेवास्ता भएको छ । पर्वत–बेनी जोड्ने झोलुङ्गे पुल र न्यूरोड पछाडिको प्रकाश माविको जग्गा पनि अतिक्रमण भएको छ । बेनी नगरपालिका–२ हाडेभिरको सार्वजनिक जग्गा लिएर कृषि औजार कारखाना चलाउनुका साथै टहरा बनाएर अन्य व्यवसायीलाई भाडामा लगाएका छन् ।

स्थानीवासी कुलदीप जुग्जालीले खेर गएको जमिन नगरपालिकालाई भाडा तिरेर संरक्षण गरेको बताए। बेनी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित हुनेबित्तिकै नगर क्षेत्रको सार्वजनिक जग्गाको पहिचान र संरक्षण गर्ने निर्णय गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतले अतिक्रमित जग्गामा बनेका भौतिक संरचना हटाउन गरेको निर्देशन तथा फैसला कागजमै सीमित भएको छ ।

बेनपा–२ का वडाध्यक्ष हीराबहादुर थापाले कार्यपालिकाको बैठकले गरेको निर्णय अटेर गरेर आफूखुसी सार्वजनिक जग्गामा संरचना बनाएर अतिक्रमण गरेका बताए । बेनीबजारमा सडकको क्षेत्राधिकारमा निर्माण भएका संरचना हटाउन प्रशासन, सुरक्षा निकाय र नगरपालिकाको टोलीले नापजाँच तथा हटाउन अनुरोध गर्दै घरदैलो गरेका थिए ।

बेनी नगरपालिका–८ कालीपुलमा नापी कार्यालयको प्रविधिक सहयोगमा अतिक्रमण भएको सार्वजनिक जग्गा छुट्याइएको वडाध्यक्ष रामकृष्ण बराइलीले बताए । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले अतिक्रमण भएको जग्गा र संरचना हटाउनका लागि नगरपालिकाले सहयोग मागेमा साथ दिन तयार रहेको बताए । नगरपालिकाले पछिल्लोपटक बेनपा–७ को चार आना जग्गा र हाडेभिरको मोटरेबल पुलको टहरा हटाउन सहयोग माग्दै प्रशासनमा पत्र पठाएको जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।