काठमाडौँ . सरकारले मुलुकको अर्थतन्त्रका मेरुदण्डका रूपमा रहेका आप्रवासी श्रमिकलाई प्रस्थान विन्दुमै दोस्रो दर्जाका नागरिकको व्यवहार गर्ने विभेदकारी संरचनाको अन्त्य गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको अगुवाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ‘श्रम डेस्क’ हटाइएको हो । वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अनलाइनबाट सम्पन्न भइसक्दा पनि वैदेशिक रोजगारीमा जाने श्रमिकले विमानस्थलमा रहेको श्रम डेस्कमा घन्टौँसम्म लामबद्ध भएर सहीछाप लगाउनुपर्ने, त्यहाँस्थित कर्मचारीबाट दुव्र्यवहार भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले सो संरचना खारेज गरेको हो ।
सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्ने नाममा श्रमिकलाई दुःख दिएको गुनासो सर्वत्र आएपछि सरकारले सो संरचनालाई हटाउने यसअघिको निर्णयलाई कार्यान्वयनमा ल्याएको हो । पूर्वमन्त्री गोकर्ण विष्टको पालामा सो संरचना हटाउने गरी विभागले काम थालेको थियो ।
सरकारले वैदेशिक रोजगारलाई पूर्णतः अनलाइन बनाउन विसं २०७५ देखि अनलाइन सूचना प्रणाली (फेमिस) कार्यान्वयनमा ल्याएको छ । फेमिस कार्यान्वयनमा आएसँगै मागपत्र प्रमाणीकरणदेखि श्रम स्वीकृतिसम्मका काम अनलाइनबाटै सम्पन्न हुँदै आएका छन् । वैदेशिक रोजगार विभागले सातै प्रदेशस्थित श्रम कार्यालयबाट अनलाइनबाटै नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति जारी गर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







