प्रेस स्वतन्त्रालाई संविधानले पूर्ण रूपमा स्वीकारेको छ: अध्यक्ष ओली


     एभरेस्ट आवाज    
     फागुन २७ गते २०७८ मा प्रकाशित




फाइल तस्विर

कास्की । नेकपा एमाले अध्यक्ष केपी ओलीले संविधासभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रालाई पूर्ण रूपमा स्वीकारेको बताएका छन् । पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले संविधानसभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रता मात्र होइन, मानव अधिकारलाई पनि व्यवस्थित गरेको बताएका हुन् ।

प्रेस चौतारी नेपालको आयोजना र कास्की जिल्लाको आतिथ्यतामा महाधिवेसन पोखरामा हुन लागेको हो । महाधिवेशनमा १ हजार ५० जना प्रतिनिधि, सल्लाहकार पोखरा आएको आवास व्यवस्थापन समितिका संयोजक दीपेन्द्र श्रेष्ठले बताए ।

यो महाधिवेशनले संशोधित विधान पास गर्नेछ भने नयाँ नेतृत्व चयन गरेर सकिने चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले बताए । अध्यक्षका लागि ४ जनाको नाम चर्चामा छ । हालका अध्यक्ष गणेश बस्नेत फेरि दोहोरिने तयारीमा छन् । महाधिवेशनको संयोजक तथा प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे, उपाध्यक्षद्वय माधव नेपाल र टिका विष्टको पनि दावी छ ।

केही समयअघि पोखरामा मानवअधिकार एलाइन्सको महाविधेशनका बेला दावेदार सबैले पोखराको रेकी गरेर फर्किएका छन् । उनीहरुले इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई भेटेर फर्किएका छन् । चौतारीमा अध्यक्ष सहित ३ उपाध्यक्ष, महासचिव १, उपमहासचिव २ र सचिव १० जना सहित केन्द्रिय समिति १ सय ४९ सदस्यीय रहने प्रश्ताव छ ।

तर अझै ९९ सदस्यीय बनाउन छलफल चलिरहेको छ । अहिले भने ४ सयको हाराहारीमा केन्द्रीय कमिटी छ । नयाँ विधान बन्दसत्रमा प्रस्तुत हुन्छ । देशभरकै जिल्लाहरु, सात भूगोल तथा उपत्यका, एसोसिएट र प्रतिष्ठानका ३ गरी १० वटा प्रदेशमा सहमतिमै नेतृत्व चयन गरिसकिएको छ । यसअघि माघ तेश्रो साता हुने भनिएको महाधिवेसन कोभिडको ओमिक्रोन भेरियन्टका कारण एक महिनापछि धकेलिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।