पोखराका मेयर जिसीको कार्यकाल : थोरै काम, धेरै बदनाम !


     एभरेस्ट आवाज    
     फागुन २९ गते २०७८ मा प्रकाशित




पोखरा महानगरपालिका कार्यालय अगाडि जेलिएर गुजुल्टिएको तार

पोखरा, फागुन २८

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उम्मेद्वार बन्दै गर्दा घोषणा गरेका थिए,‘पोखराका सडकबाट तीन महिनामा पार्किङ हटाउँछु ।’ सडकमा रहेको पार्किङ हटाएर ब्यबस्थित पार्किङ बनाउने उनको प्रतिबद्धता थियो । वैकल्पिक पार्किङ बनाएर व्यवस्थित बनाउने मात्र होईन, बहुतले पार्किङ बनाएर सडकबाट पार्किङ हटाउने र यसलाई व्यवसायीकरण गर्ने भन्ने उनको घोषणा थियो । अव्यवस्थित र भद्रगोल पार्किङबाट आजित भएका पोखरेली जनताले जिसीको कुरा पत्याए । नभन्दै उनलाई भारी मत दिएर जिताएपनि ।

तर जिसी मेयर बनेको ५ वर्ष पुग्न २ महिना मात्र बाँकी छ । उनी मेयर त बने तर उनले जाहेर गरेको प्रतिबद्धता पूरा गर्न सकेनन् । बरु पहिलेजस्तै अहिलेपनि भद्रगोल तरिकाले पार्किङ भइरहेको छ ।

हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने स्वाभावका मेयर जिसीले चुनाव जितेलगत्तै पोखराका चोकहरुमा रहेको शालिक हटाउने उद्घोष गरे । तर उनी आफ्नो निर्णयमा चौविस घण्टासमेत टिक्न सकेनन् । सर्वपक्षीय छलफलमा पोखराका चोकहरुमा रहेको शालिक हटाउने निर्णय गराएलगत्तै डोजर लगाएर शालिक फाल्न तम्सिएका उनी सरोकारवाला पक्ष निर्णयको बिरुद्धमा उभिएपछि उनी झस्किए । रत डोजर लगाएर फालेको शालिक रातारात हाल्दापनि चुईंक्कसमेत बोल्न सकेनन् ।

एकताका उनी पोखरामा जेलिएका तारहरु काट्दै हिंडे । सुन्दर नगरी पोखरालाई गुजुल्टिएर जेलिएको तारले कुरुप बनाएको गुनासो आएपछि पोखरा सिद्धार्थचोकबाट जेलिएको तार काटेर अभियान शुभारम्भ गरे । त्यसबेला निकै हौसिएका उनले जेलिएका तारमुक्त पोखरा बनाउने उद्घोष गरे । बिजुली तारदेखि टेलिफोन, केवल टिभी, ईन्टरनेटलगायतका तारलाई जमिनमुनी बिछ्याउने उनको महत्वकांक्षी योजना थियो । तर त्योपनि धेरै दिन टिकेन । त्यो अभियान कहाँ पुग्यो ? नत महानगरलाई थाहा छ नत उनलाई नै । बरु लाजपनि लजायो होला भनेझैं‘अहिले जेलिएको तारले उनलाई गिज्याईरहेको छ ।’

एकपछि अर्को गर्दै असफलता बेहोरेका मेयर जिसी फिर्के करिडोर बनाउने अभियानमापनि सफल भएनन् । करिडोरको शुभारम्भ डोजर चलाएर गर्न खोज्दा रेलिङ नै भत्किएर पत्रकारहरु खोलामा खस्नुका साथै घाइतेसमेत भएपछि उनको आलोचना भयो । फिर्केको दुवैतर्फ १०÷१० मिटर राख्ने भन्दै काम शुरु गरेपनि त्यो अभियान अहिले अलपत्र परेको छ । स्थानियसँग छलफल गर्नुभन्दा आफ्नै लेंडेढिपी नछोड्दा उनको योजना बिचमै तुहियो ।

मेयर जिसी पोखराको अत्यावश्यक र दुरगामी प्रभाव पार्ने चक्रपथ (रिङ्गरोड) र बसपार्क बनाउनपनि असफल भए । उम्मेद्वार बन्दैगर्दा जोडतोडका साथ रिङ्गरोड र बसपार्क बनाउने उद्घोष गरेका उनले ती प्रतिबद्धता पूरा गर्न ठोस पहलसमेत गरेनन् । पोखरामा बसपार्क बनाउन तीन दशक अघि नै जग्गा छुट्याउनुका साथै बजेटपनि जोहो गरिएको थियो । राजनीतिक ईच्छाशक्तिको अभावका कारण रोकिएको उक्त बसपार्क बनाएर पोखरेलीको वाह ! वाही पाउने उनलाई अवसर थियो । तर उनले बसपार्क बनाएर इतिहास रच्ने र जिन्दगीभरी नै पोखरेलीले प्रशंसा पाउने अवसर खेर फाले ।

मेयर जिसीलाई रिङरोड बनाएर पोखरेलीको विकासको चाहना पूरा गर्न सक्थे । तर उनले उक्त योजनालाईपनि दराजमा थन्काए । जसका कारण पोखरेलीको वर्षौंदेखिको चक्रपथ बनाउने योजना र सपना चकनाचुर भयो ।

त्यतिमात्र होईन, पोखराका लागि वैकल्पिक ल्याण्डफिल साइट खोज्नपनि महानगर सफल भएको छैन । पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल बनाउन शुरु भएलगत्तैदेखि वैकल्पिक ल्याण्डफिल साइटको खोजी भएपनि चार वर्ष बित्दासमेत महानगरले टुंगो लगाउन सकेको छैन । यसलेपनि महानगरको कार्यसम्पादन कस्तो छ भन्ने प्रष्ट देखाउँछ ।

मेयर जिसी पोखराको प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको फेवातालको मापदण्ड तोक्न र सौन्दर्यकरण गर्नबाटपनि चुके । सर्वोच्चको फैसला अनुरुप आइपरेको जिम्मेवारी पूरा गर्न उनले तदारुकता दैखाएनन् । बरु उल्टो फेवाताल गहि¥याउने नाममा सिमसार क्षेत्र पुरेको उनीमाथि आरोप छ । फेवातालको सिरान क्षेत्रमा रहेका सिमसार महानगरकै मिलेमतोमा स्थानियले पुर्दै घडेरी बनाउने काम भयो र अद्यापी छ ।

पोखरामा मापदण्ड विपरित बनेका घर भत्काउने भन्दै उनी पोखरा–४ की दलित वडा सदस्यको घर भत्काउन पुगे । दोश्रो तला थप्न खोज्दा बाधक बनेका उनी पोखरामा बनेका मापदण्ड विपरित बनेका १० तले घरलाई नियमन गर्नेबारे निर्णय गर्न सकेनन् । जसका कारण अहिलेपनि मापदण्ड विपरित घर दैनन्दिन बनिरहेका छन् । सोहि कारणले उनी आलोचित छन् ।

एकताका मेयर जिसी स्मार्ट सिटीको रटान लगाउँथे । पोखरालाई युग सुहाउँदो सहर बनाउने भनेका उनले स्मार्ट सिटीको न्यूनतम शर्तहरुसमेत खाका कोर्नसमेत सकेनन् । बरु पोखरामा चल्ने बसहरुमा स्मार्ट कार्डको प्रयोग गर्ने भनेर दुई÷दुई पटक निर्णय गराएरपनि व्यवहारिक कार्यान्वयन गर्न चुके ।

हुन त मेयर जिसी उम्मेद्वार बन्नेताका नै भन्थे,‘पोखरालाई सके बनाउँछु, नसके कम्तिमा बिगार्दिन ।’ उनले भनेजस्तै पोखरालाई बनाउन त सकेनन् नै । तर बिगार्न पो भूमिका खेले कि भन्ने आशंका पोखरेलीको छ । चाहे फेवातालको सिल्टेसन ड्याम बनाउँदा होस् वा सेती नदीको दोहनको सन्दर्भमा उनीमाथि बारम्बार प्रश्न उठ्ने गरेको छ । वातावरणीय प्रभाव मूल्याङ्कनसमेत सम्बन्धित कम्पनीलाई नै दिएर पैंतीस वर्षका लागि सेती नदी थुनेर ढुंगा, गिट्टी, वालुवा उत्खनन् गर्न दिने सम्झौताको अन्तिम चरणमा छ । जोखिम सम्भाव्यता र वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने जिम्मेवारीबाटसमेत पन्छिएर नीजि कम्पनीलाई सम्पूर्णाधिकार दिने निर्णयप्रति पोखरेलीको असहमति छ ।

पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको २८ करोड ९६ लाखको लागतमा फेवातालको माथिल्लो क्षेत्रमा रहेका खोलाहरुमा सिल्टेसन ड्याम लगाइयो । फेवातालको श्रोत मानिने वेत्यानीखोला, अँधेरीखोला, हर्पनखोला, लौरुकखोला, खहरेखोलालगायतमा लगाइएको सिल्टेसन ड्याम कमसल सामानको प्रयोग गर्दा एक वर्षपनि टिकेन । वार्षिक ८÷१० करोड कमाउने प्रचार गरेर शुरु भएको सिल्टेसन ड्याम एक वर्षमै खोलाले बगाएपछि पोखरेलीको आश, सत्यानाशमा परिणत भयो ।

यीमात्र होईन, यसबाहेक उनले सडकमा सौर्य बत्ती जडान, ठाउँठाउँमा सार्वजनिक शौचालय, पिउने पानीको ब्यवस्था, सहरका प्रमुख चोकहरुमा सिसी क्यामेरा जडान र प्रमुख बस्तीहरूमा सुपथ सहकारी पसल सञ्चालन गर्ने महात्वाकांक्षी योजना घोषणा गरे । तर ती घोषणा घोषणामै सीमित भए । शिक्षा र स्वास्थ्यलाई आम नागरिकको पहुँचमा पु¥याउने उनको प्रतिबद्धतापनि कागजमै सिमित भए ।

मेयर जिसी वित्तिय अनुशासनमा पनि फेल भए । महानगरमा बेलाबेला आर्थिक अनियमितता कुरा पनि सार्वजानिक भइरहे । महालेखा परीक्षण कार्यालयको २०७८ को प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा समेत पोखरा महानगरपालिकामा ६२ करोड ४६ लाख ६३ हजार बेरुजु देखिएको छ । सो मध्ये १७ करोड १२ लाख ६६ हजार त असुल–उपर नै गर्नुपर्ने भनिएको छ । त्यसैगरी प्रमाण पेस गर्नुपर्नेमा १४ करोड १२ लाख ६८ हजार रूपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा पोखरा महानगरको राजस्वको १३ करोड रूपैयाँ बैंक खातामै जम्मा नगरी गायब पारियो । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०७७ अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा महानगरमा १३ करोड एक लाखको हिसाब हराएको थियो । त्यसमध्ये एक करोड ७३ लाखको हिसाब मात्र फरक परेको महानगरले नै स्वीकारिसकेको छ ।

मेयर जिसीले गरेका अधिकांश काम असफल भएपनि केहि सकारात्मक कामको थालनी भने गरेका छन् । उनले सहीद तथा राष्ट्रिय विभूती पार्क बनाएर कम्तिमा आशाको सञ्चार गरे । भलै उनले पोखराका सबै चोकबाट शालिक हटाउन सकेनन् । तर पोखरा महानगरपालिका वडा नम्बर–१८ ज्ञारजातिमा विभूति पार्क स्थापना गरे । हाल उक्त पार्कमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहदेखि जनआन्दोलन, जनयुद्धदेखि विभिन्न समयमा ज्यान गुमाएका सहीदहरु, पोखराका चर्चित कम्युनिष्ट नेता रवीन्द्र अधिकारीसम्मको शालिक रहेका छन् । सोहि पार्कका कारण आन्तरिक पर्यटकको त्यहाँ चहलपहल हुने गरेको छ ।

मेयर जिसीले लिंक रोडकोसमेत थालनी गरे । पोखराका तेत्तीसवटै वडालाई जोड्नेगरी लिंक रोड बनाउने अभियानलाई उनले तिव्रता दिए । जसको फलस्वरुप अहिले अधिकांश वडा जोडिएका छन् ।

मेयर जिसीको अर्को राम्रो काम भनेको उनको भिजन र मिसनमा पोखराका मुख्य सडकहरुमा अस्फाल्ट पिच शुरु भएको छ । पोखराको न्यूरोड क्षेत्रबाट शुरु भएको अस्फाल्ट पिचको अभियान लेकसाईड, रानीपौवादेखि लेखनाथसम्मपनि पुगेको छ ।

मेयर जिसीको अर्को सकारात्मक कदम भनेको वडावडामा खुल्ला व्यायाम शाला (ओपन जिम) स्थापना हो । नगरवासीलाई स्वस्थ बनाउने अभिप्रायले मेयर जिसीकै सोंच र अभियानमा पोखराका प्रायः सबै वडामा खुल्ला व्यायामशाला निर्माण भएको छ । त्यस्तै उनकै पहलमा एक वडा, एक खेल मैदान निर्माण कार्य भएको छ । यसलाईपनि पोखरेलीहरुले सकारात्मक रुपमा लिएका छन् ।

मेयर जिसीले थालेका अधिकांश काम अलपत्र परेका कारण मेयर जिसीलाई असफल मेयर भन्नेहरु धेरै छन् । नागरिक समाज पोखराका पूर्व संयोजक तथा नागरिक अभियन्ता रामबहादुर पौडेल जिसी पूर्णतः असफल भएको बताउँछन् । ‘उहाँ सक्षम हुनु भएन । उहाँको काम गर्ने गति, उहाँका गतिविधिले उहाँ सम्पूर्ण रुपमा असफल भएको प्रष्ट छ’–उनले भने ।

नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीपनि जिसी आफ्नो प्रतिबद्धतामा डिरेल भएको बताउँछन् । ‘घोषणा पत्र त कहाँ पुग्यो थाहा छैन । तर उहाँले घोषणा पत्रमा लेखेका एउटा कुरापनि पूरा गर्नु भएन । उहाँ कार्यसम्पादनमा कमजोर हुनुभयो’–उनले भने । मेयरको जिसीको कमजोर कार्यसम्पादनका कारण पोखरा १० वर्ष पछि परेको उनको भनाई छ । नेकपाको तीनै तहको सरकारलाई डबल ईञ्जिनको संज्ञा दिदै उनले भने,‘यस्तो अवसरमापनि गर्न सक्नु भएन । उहाँको कार्यकाल उत्साहजनक भएन ।’ मैले कम्तिमा पोखरालाई बिगारिन नि भन्ने मेयर जिसीको उनले प्रतिवाद गरे । भने,‘केहि नगर्नु भनेको बिगार्नु नै हो । यहि कारण पोखरा १० वर्ष पछि प¥यो ।’ उनले जिसी देशकै ठूलो महानगरको मेयर भएरपनि देशकै सबैभन्दा कमजोर कार्यसम्पादन गर्नेमा पर्नु लज्जास्पद भएको टिप्पणी गरे । श्रोत परिचालन, भौतिक संरचना, पूर्वाधार निर्माणदेखि नदीनालाको व्यवस्थापन र संरक्षण, वैकल्पिक ल्याण्डफिल निर्माण लगायतमा मेयर जिसी असफल भएको उनको ठम्याई छ ।

पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष तथा नेपाली कांग्रेस पोखरा महानगरपालिकाका संसदीय दलका प्रमुख सचेतक रामराज लामिछानेपनि मेयर जिसीको कार्यकाल पूर्णतः असफल भएको दाबी गर्छन् । ‘उहाँले हिजो चुनावमा जे बोल्नु भो, जे प्रतिबद्धता गर्नुभो त्यो अलिकतिपनि पूरा गर्नु भएन । यस हिसाबले उहाँ पूर्णतः असफल हुनुभो’–उनले भने । केहि वडाका भवन बने होलान्,उनले थपे,‘तर महानगर आफैले नत बाटो बनायो, नत सुशासन कायम गर्ने, प्राकृतिक सम्पदाको संरक्षण गर्ने काम ग¥यो । बरु भ्रष्टाचारमा मुछिनेदेखि भद्रगोल पार्किङलाई निरन्तरता दिनेसमेतका काम भए ।’

पोखरा महानगरपालिकाका प्रवक्ता तथा पोखरा–५ का वडाध्यक्ष धनबहादुर नेपाली भने मेयर जिसीको कार्यकाल असफल भएको भन्ने कुरा तथ्यहीन भएको बताउँछन् । बरु उनी मेयरको कार्यकाल सुखद र सकारात्मक भएको दाबी गर्छन् । विकासमा प्रतिपक्ष हुँदैन भनेर सबैसँग हातेमालो गर्ने, महानगरको योजना बनाउने कुरा दीर्घकालीन बनाउने हो, त्यसैले यसका लागि सैद्धान्तिक, भौतिक, नैतिक रुपमा सहयोग गरौं भन्ने अभियान, प्रशासनिक सेवा चुस्त, न्यायीक सेवा दिनेदेखि विकटलाई निकट बनाउन कनेक्टिङ रोड बनाउनेलगायतका कामहरु गर्न मेयर जिसी सफल भएको उनको भनाई छ । यद्वपी गौरवको योजना निर्माणमा भने सोंचेजस्तो सफलता प्राप्त गर्न नसक्नु कमजोरी भएको उनले स्वीकारे । उनले भने,‘यसमा संघ र प्रदेशबाट बजेट पर्याप्त नआउनु तथा नीति तथा कानून बनाउन नसक्दा यसमा सफल हुन सकिएन ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।