खोटाङ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमिक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा जिल्लामा मासु अभाव भएको हो ।
फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जिल्लामा सञ्चालित सबै मासु बिक्री केन्द्र (फ्रेस हाउस)हरू अहिले बन्द छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघि नगरपालिका ब्रोइलर कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर भएको घोषणा गर्दै तराईबाट आयात हुने ब्रोइलर कुखुरा तथा अण्डामा रोक लगाएपछि दिक्तेल बजारमा अहिले मासु अभाव भएको छ ।
लामो समयको वर्षा र हिमपातपछि बढेको चिसोका साथै ओमिक्रोनको त्रासका कारण जिल्लामा ब्रोइलर कुखुराको मासु उत्पादन गर्न नसक्दा व्यवसायीले करोडौँको घाटा व्यहोर्नुपरेको पोल्ट्री व्यवसायी सङ्घ खोटाङका अध्यक्ष सुवास जोशीले जानकारी दिए । जिल्लाका सहरी क्षेत्र तथा गाउँमा समेत मासु अभाव भएपछि अहिले अण्डाको माग भने बढेको पोल्ट्री व्यवसायीले बताएका छन् ।
यसका लागि दिक्तेल बजारमा मात्रै व्यावसायिकरूपमा करिब पाँच हजार लेयर्स कुखुरा पालिएका छन् । दिक्तेल बजारमा सञ्चालित लेयर्स कुखुरा फार्मबाट पछिल्लो समय दैनिक करिब १५–२० कार्टुन अण्डा बिक्री हुने गरेको पोल्ट्री व्यवसायी सङ्घले जनाएको छ । यद्यपि तराईका विभिन्न जिल्लाबाट कम मूल्यमा आयात गरिने अण्डाले जिल्लामा उत्पादित अण्डा बिक्रीमा समस्या हुने गरेको बताइएको छ ।
व्यवसायीका अनुसार उत्पादन भएको अण्डा २० दिनदेखि महिना दिनभित्र उपयोग गरिसक्नुपर्ने हुन्छ । तराईबाट आयात हुने अण्डा कति दिन उत्पादन भएको हो भन्ने पहिचान नहुँदा महिनौँपछि समेत उपभोग गर्ने गरिएको छ । दिक्तेल बजार तथा आसपासका क्षेत्रमा समेत कुखुराको मासु पाउन छाडेपछि अहिले जिल्लामा स्थानीय जातका कुखुराले भने राम्रो मूल्य पाएको छ ।
यसअघिसम्म प्रतिकेजी रु ८०० मा पाउने स्थानीय जातका कुखुराको मूल्य बढेर अहिले प्रतिकेजी रु ९०० देखि रु एक हजारसम्म पुगेको उपभोक्ता बताउँछन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







