पोखरा वृद्धाश्रमको रजत जयन्ती विशेष कार्यक्रम शुरु


     एभरेस्ट आवाज    
     चैत्र १ गते २०७८ मा प्रकाशित




पोखरा, चैत १

पोखरा वृद्धाश्रम रजत जयन्ती मनाउन शुरु गरेको छ । पोखरा वृद्धाश्रम स्थापना भएको पच्चीसौं वर्ष प्रवेश गरेको अवसरमा वृद्धाश्रमले रजत जयन्ती मनाउन शुरु गरेको हो । रजत जयन्तीको गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले मंगलबार २५ वटा विरुवामा जलसेचन गरेर शुभारम्भ गरे ।

रजत जयन्तीको शुभारम्भ समारोहको अवसरमा वृद्धाश्रमले स्थापना कालदेखि हालसम्म सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरेको छ । कार्यक्रममा वृद्धाश्रमका पूर्व अध्यक्ष टीकाबहादुर भण्डारीलाई दीर्घसेवा सम्मानबाट सम्मानित गरियो भने संस्थाका पूर्व अध्यक्ष स्व.वसन्तकेशव पराजुलीकी धर्मपत्नी टंककुमारी पराजुलीलाईपनि सम्मान गरिएको थियो ।

सो अवसरमा वृद्धाश्रमलाई स्थापना कालदेखि हालसम्म सहयोग गर्नेहरुलाईपनि सम्मान गरिएको थियो । कार्यक्रममा विक्रम थकाली, गीता सुवेदी, सावित्री भण्डारीसहित करीब ५० जनालाई सम्मान गरिएको थियो । उनीहरुलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय अध्यक्ष छत्रबहादुर प्रधान, पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलगायतले दोषल्ला, सम्मान पत्र र माला लगाएर सम्मान गरेका थिए ।

रजत जयन्तीको अवसरमा वृद्धाश्रमले चैत महिनाभर विभिन्न कार्यक्रम गर्ने भएको छ । वृद्धाश्रमले रजत जयन्तीको अवसरमा ज्येष्ठ नागरिक दोहोरी गीत प्रतियोगिता, ज्येष्ठ नागरिक भजन चुड्का प्रतियोगिता, ज्येष्ठ नागरिक स्याहारकर्ता तालिमलगायतका कार्यक्रम गर्ने वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।