गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गाउँगाउँमा ज्येष्ठ नागरिक केन्द्र बनाउनुपर्ने बताएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–१७ सीतापाइलास्थित ‘पोखरा वृद्धाश्रम’को रजत जयन्ती विशेष कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै उनले अबदेखि वृद्धाश्रमलाई ज्येष्ठ नागरिक केन्द्रका रुपमा परिणत गरेर त्यसलाई गाउँगाउँ र टोलटोलमा बनाउनुपर्ने बताएका हुन् । ‘ज्येष्ठ नागरिक केन्द्र र ज्येष्ठ नागरिक दीवा सेवा केन्द्र गाउँगाउँ र टोलटोलमा बनाउनुपर्छ’–उनले भने । ज्येष्ठ नागरिक समाजको महत्वपूर्ण सम्पती भएकाले उनीहरुको रेखदेख, हेरचाह र संरक्षण राज्यले गर्नुपर्ने उनले बताए । वृद्धाश्रम भन्दा नाक खुम्च्याउने गरेकाले यसको नाम परिवर्तन गरेर ज्येष्ठ नागरिक केन्द्र बनाउनुपर्नेसमेत उनले बताए ।
ज्येष्ठ नागरिक बस्नका लागि एउटा आवासीय ज्येष्ठ नागरिक केन्द्र र अर्को ज्येष्ठ नागरिक दीवा सेवा केन्द्र बनाउनुपर्ने उनको भनाई थियो । ‘जसको छोराछोरी छैनन्, दुःखी, असहायः र बेवारिसे छन् उनीहरु आवासीय ज्येष्ठ नागरिक केन्द्रमा बस्छन्, जसको छोराछोरी छन् तर दिउँसो हेर्ने मान्छे छैनन् उनीहरु ज्येष्ठ नागरिक दीवा सेवा केन्द्रमा बस्छन्’–उनले भने । उनले त्यस्तो ज्येष्ठ नागरिक केन्द्र वा दीवा सेवा केन्द्र घरबाट करीब २० मिनेट भन्दा कम दुरीमा हुनुपर्ने बताए ।
मन्त्री श्रेष्ठले ज्येष्ठ नागरिक केन्द्र होस् वा दीवा सेवा केन्द्र दुबैमा स्वास्थ्य सेवा अनिवार्य हुनुपर्ने बताए । त्यसका लागि राज्यले सहयोग गर्नुपर्ने उनको भनाई थियो । उनले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा निःशुल्क गर्ने राज्यको नीति अनुरुप गण्डकी सरकारले त्यसको व्यवस्था गरेको बताए । ‘यदी कसैले त्यस्तो सेवा पाउनु भएको छैन, वा कुनै अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा नदिएको भए सरकारलाई जानकारी गराउनूस् । हामी कारवाही गर्छौं’–उनले भने ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधानले सुरक्षित एवम् सम्मानित ज्येष्ठ नागरिक आजको आवश्यकता भएको बताए । उनले प्रत्येक घरमा वृद्धाश्रम हुनुपर्ने बताए । ‘वृद्धवृद्धालाई छोराछोरीले नै हेर्नुपर्छ, बच्चा हुँदा बुबाआमाले छोराछोरी हेर्नुपर्छ भने बृद्धबृद्धा हुँदा छोराछोरीलेपनि हेर्नुपर्छ । त्यसका लागि ज्येष्ठ नागरिकमैत्री वृद्धाश्रम हरेक घरमा हुनुपर्छ’–उनले भने ।
पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गरी बृद्धाश्रममा जेरियाटिक वार्ड सञ्चालनमा ल्याइएका जानकारी दिए ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले ज्येष्ठ नागरिक आश्रमहरूलाई जीवित भगवान भेट्ने तीर्थस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको…





