आईसीसी विश्वकप लिग–२ः पपुुवा न्युगिनीमाथि नेपालको रोमाञ्चक जित


     एभरेस्ट आवाज    
     चैत्र ३ गते २०७८ मा प्रकाशित




आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि रोमाञ्चक जित निकालेको छ।

युएईको सारजाह क्रिकेट मैदानमा बुधबार भएको खेलमा शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीमाथि २ विकेटको रोमाञ्चक जित निकालेको हो।

पपुवा न्युगिनीले दिएको २०५ रनको विजय लक्ष्य पछ्याएको नेपालले ४९.२ ओभरमा ८ विकेटको क्षतिमा २१० रन बनाएर खेल जित्यो।

नेपालका लागि रोहित पौडेलले ५८ र आरिफ शेखले ५४ रन बनाए। यस्तै, करण केसीले २९, आसिफ शेखले १६, विनोद भण्डारीले १२, दीपेन्द्रसिंह ऐरी र सोमपालले समान ८÷८, ज्ञानेन्द्र मल्लले ४ र कुशल भुर्तेलले १ रन जोड्दै आउट बने।

नेपालले ४२ रनमा ४ विकेट गुमाएको अवस्थामा रोहित पौडेल र आरिफ शेखले पाँचौँ विकेटका लागि १०२ रनको कीर्तिमानी साझेदारी गरे। योसँगै आरिफ र रोहित शतकीय साझेदारी गर्ने पहिलो कीर्तिमानी नेपाली जोडी बनेका छन्।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनायो। उसका लागि चाल्र्स अमिनीले सर्वाधिक ५९ रन बनाए। यस्तै, चाद सोपरले ३५, टोनी उराले २७ र लेगा सियाकाले २५ रन जोडे।

बलिङतर्फ नेपालका सोमपाल कामीले ३ विकेट लिए। यस्तै, सन्दीप लामिछाने र आरिफ शेखले १÷१ विकेट लिए। यस्तै, आजको खेलमा ज्ञानेन्द्र मल्लले पहिलो एकदिवसीय विकेट लिएका छन्। २ ओभर बलिङ गरेका ज्ञानेन्द्रले ६ रन दिएर १ विकेट लिए ।

शृंखला अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल भोली शुक्रवार युएईसँग, तेस्रो खेल आउँदो सोमबार (चैत ७ गते) यूएईसँग नै र मंगलबार (चैत ८ गते) अन्तिम खेल पपुवा न्युगिनीसँग खेल्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।