उडान विस्तार गर्दै नेपाल एयरलाइन्स,कहाँ र कहिले उडान गर्ने ? यस्तो छ तालिका


     एभरेस्ट आवाज    
     चैत्र ३ गते २०७८ मा प्रकाशित




काठमाडौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो ।

नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैङलोरमा पुनः उडान गर्ने घोषणा गरिसेको छ । निगमले आगामी मार्च २१ देखि बैङ्लोर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ । बैंङ्लोरमा साताको मङ्गलबार, बिहिबार र शनिबार उडान सञ्चालन हुनेछ भने मुम्बईमा बुधबार, शुक्रबार र आइतबार उडान गरिनेछ ।

नयाँ दिल्लीमा दैनिक दुई उडान

महामारीको असहज अवस्थामा पनि नियमित उडान भइरहेको भारतको नयाँ दिल्ली गन्तव्यमा पनि गत फागुन ३० देखि दैनिक दुई उडान भइरहेको छ । भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीमा दैनिक दुई उडान गरिरहेको हो ।

जापानको नारितामा साताको दुई उडान

नेपाल एयरलाइन्सले जापानको नारितामा साताको दुई दिन उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको छ । कोभिड महामारीका कारण उडान स्थगन भएको यो गन्तव्यमा निगमले पुनः उडान सञ्चालन गर्न लागेको हो ।

निगमले जापानको नारितामा साताको दुई उडान गर्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । नारिता विमानस्थलमा अप्रिल १ देखि उडान गर्नेगरी तयारी भइरहेको हो । निगमका प्रवक्ता अड्काले कोभिड महामारी पूर्वका सबैजसो गन्तव्यमा पुनः उडान विस्तार गरेर नेपाल एयरलाइन्स उडान सेवामा पूर्ववत लफमा फर्किएको उल्लेख गरे ।

नेपाल एयरलाइन्सले नारितामा अप्रिल १ देखि साताको मङ्गलबार र शुक्रबार उडान गर्नेगरी नयाँ तालिका सार्वजनिक गरिसकेको छ । अहिले नारितामा शुक्रबार मात्र उडान भइरहेको छ । हाल नारितामा साताको एक दिन शुक्रबार मात्रै उडान भइरहेको छ । नेपाल एयरलाइन्सले सात देशका नौ गन्तव्यमा उडान गर्दै आएको छ ।

बैंककमा पनि साताको दुई उडान

नेपाल एयरलाइन्सले थाइल्याण्डको राजधानी बैंकक गन्तव्यमा पनि साताको दुई उडान सञ्चालन गर्ने भएको छ । यसअघि सातामा एक मात्रै उडान गरिरहेको नेपाल एयरलाइन्सले आगामी चैत ७ देखि सातामा दुई उडान गर्ने तयारी गरेको हो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।