टिनका छाप्रोमा कक्षा १


     एभरेस्ट आवाज    
     चैत्र ३ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

दाङ । वरिपरी टिनले बेरिएको छ । त्यही टिनले बेरिएको छाप्रोभित्र शिक्षकले विद्यार्थीलाई पढाइरहेका छन् । छाप्रोभित्र चैतको पारिलो घाम छिरेको छ । शिक्षिकाले सलले निधारमा परेको घाम छेक्दै ‘ह्वाईट बोर्ड’मा लेखिरहेकी हुन्छिन् ।

विद्यार्थीहरु एक हातले कपीले निधारमा परेको घाम छोपिरहेका हुन्छन्, भने एक हातले शिक्षिकाले भनेको कुरा कापीमा टिपिरहेका हुन्छन् । यही चित्र देखिन्छ्, सुगम जिल्लाको विकट क्षेत्रमा रहेको अम्बासको एक विद्यालय । दाङको तुलसीपुर उपमहानगरपालिका– ३ अम्बासमा पर्ने त्यो विद्यालयका ३ वटा कक्षाका विद्यार्थीले टिनको छाप्रोमा पढिरहेका हुन्छन्, भने एउटा कक्षाका विद्यार्थी बाहिरै पढिरहेका हुन्छन् ।

विद्यालयमा प्रर्याप्त भवन नहुँदा यही कात्तिकदेखि यसरी बाहिरै पढाइ भइरहेको छ । हिउदमा बाहिर पढ्दा पनि त्यति समस्या भएन्, तर अब गर्मीयाम सुरु भएकाले निकै समस्या हुने गरेको शिक्षिका कमला शर्माले बर्ता । एउटा कक्षाका विद्यार्थीलाई पढाएको कुरा अर्को कक्षाका विद्यार्थीले सुन्छन् ।

एकातर्फ हो–हल्ला गरेको अर्को तिर सुनिन्छ । विद्यार्थीहरुले एकातिर पढाएको कुरा अर्कैतिर सुनिने भएकाले बुझ्न पनि समस्या हुने गरेको बताउने गरेका छन् । अहिले कक्षा ४,५,६ र ७ का विद्यार्थीहरु यसरी छाप्रो र खुल्ला चौरमा पढ््न बाध्य छन् । २०२८ सालमा स्थापना भएको उक्त विद्यालयका भवन पूराना भएका थिए ।

पुराना भवनलाई भत्काएर नयाँ भवन निर्माण गर्ने कार्य अघि बढ्यो । तर, समयमै विद्यालय भवन निर्माण पूरा नभएपछि अहिले यसरी बाहिर राखेर पठनपाठन गर्न बाध्य भएको विद्यालयका प्रधानाध्यापक फस्टबहादुर राणाले बताए । त्यहाँ भएको भवन गएको कात्तिकमा भत्काएर नयाँ निर्माण थालिएको हो ।तर, अहिलेसम्म त्यहाँ काम एकरत्ति पनि अगाडि बढ्नसकेको छैन । छाया नेपालले सँगसँगै निर्माण थालेको तुलसीपुर ७ कालाखोलास्थित भवनको काम अन्तिम चरणमा पुगेको छ ।

तर,अम्बासको भवन निर्माणको काम भने सुस्त गतिमा छ । विद्यालयका प्रअ राणाका अनुसार असारमसान्तसम्म सक्ने गरी सम्झौता भए पनि विद्यार्थीको पठनपाठनलाई मध्येनजर गरी त्यो भन्दा छिट्टै पूरा गर्ने गरी अगाडि बढ्ने आश्वासन दिइएको थियो । तर, त्यो आश्वासन अनुसार काम नहुँदा अहिले विद्यालयले छाप्रामा पढाउनुपर्ने बाध्यता रहेको गुनासो गरे । एक करोड ४३ लाख लागतमा ८ कोठाको उक्त भवन निर्माण हुन लागेको हो । कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा अहिले २४५ विद्यार्थी छन् ।

त्यहाँ सोही वडाको थापापानी, बल्ले, टिमगैरा, टुनापानी, सितेधारा, सिस्नेरी, कल्ले, बल्ले, अम्बास, बोहरागाउँ, गहिरा नाउलालगाायतबाट आउने गर्छन् । अहिले विद्यालयमा १४ जना शिक्षक कर्मचारी कार्यरत रहेको प्रअ राणाले बताए ।

शौचालय समस्या

विद्यालयमा शौचालयको पनि समस्या छ । एउटा शौचालय छ । त्यो पनि निकै फोहर छ । पानी नभएकाले गर्दा शौचालय निकै दुर्गन्धित हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलामणि बाँठाले बताउनुभयो ।

त्यो विद्यालय पढ्न तीन घण्टा हिँडेर आउनुपर्ने अवस्था छ । गाउँ पनि सानो भएको र नजिकमा विद्यालय नभएकाले धनवासका विद्यार्थी २÷३ घण्टा हिँडेर विद्यालय आउनुपर्ने बाध्यता रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।