होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने १९७ कारबाही


     एभरेस्ट आवाज    
     चैत्र ३ गते २०७८ मा प्रकाशित




पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले होली पर्वमा ट्राफिक नियम उल्लङ्घन गर्ने १९७ जनालाई कारवाही गरेको छ ।

कास्कीका विभिन्न स्थानमा गरिएको चेक जाँचका क्रममा उनीहरुलाई कारवाही गरिएको कार्यालयका सुुचना अधिकारी प्रहरी साहायक निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ३२ जना छन् ।

आज होलीका अवसरमा उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्रगति र जिगज्याग गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने, तीन जनाभन्दा बढी चढ्ने, सवारीसाधनको प्रयोग गरी महिलालाई लक्ष्य गरी रङ, लोला हान्ने, अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने, मोडिफाइ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउनेमाथि विशेष निगरानी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीले दुर्घटनारहित होली पर्व बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा बिहानदेखि नै कडा जाँचको व्यवस्था मिलाएको थियो ।

विहानैदेखि होलीलक्षित ट्राफिक व्यवस्थापन कडा गरिएका कारण कास्कीमा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।