तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न सुरु


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०७८ मा प्रकाशित




तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ।

कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो।

महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए। कास्की कारागारबाट ११ महिला कैदीबन्दी तनहुँ ल्याइएको छ। तनहुँ ठेगाना भएका ती महिलालाई कास्कीबाट यहाँ स्थानान्तरण गरिएको अधिकारीले बताए।

‘महिला बन्दीगृह नहुँदा तनहुँबाट कास्की पठाइएका उनीहरुलाई पुनः यहीँ पठाइएको छ’, उनले भने।

त्यसमध्ये २ थुनुवा र ९ कैदीबन्दी रहेको अधिकारीले जानकारी दिए।

तनहुँ अदालतबाट पनि एक महिलालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। ती महिलालाई पनि महिला बन्दीगृहमै राखिएको अधिकारीले बताए। तनहुँमा निर्माण गरिएको महिला बन्दीगृहमा २० जना राख्न मिल्ने क्षमता छ। महिला बन्दीगृह नहुँदा कैदीबन्दीलाई पोखरा वा अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेकामा अब उक्त बाध्यता अन्त्य भएको छ। कारागारको पुरानो कार्यालय भवन र सुरक्षा ब्यारेकलाई मर्मत र कम्पाउण्ड गरी महिला बन्दीगृह सञ्चालन गरिएको हो।

कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको हो। गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयमार्फत २० लाख रुपैयाँ बजेटको काम भएपनि बजेट अपुग हुँदा चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।