मनाङ । हिमाली जिल्ला मनाङमा पुलको निर्माणकार्य नसकिँदै अलपत्र परेको छ । सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिँदै अलपत्र परेको हो ।
हुम्डे विमानस्थल नजिकैबाट ङावल जान मस्र्याङ्दी नदीमाथि ‘स्टिल गर्डर ब्रिज’ निर्माणका लागि ग्वाला–क्याराभान जेभी काठमाडौँले २०७५ मङ्सिर १५ मा सक्ने गरी पुल निर्माण सम्झौता गरेको थियो । म्याद सकिएको तीन वर्ष बितिसक्दा पनि पुलको निर्माण भने अझै सम्पन्न भएको छैन । यो पुल निर्माणाधीन अवस्थामा २०७६ असार २५ मा खसेको थियो ।
मनाङ ङिस्याङ गाउँपालिका–३ ङावलका वडाध्यक्ष कृष्ण लामाका अनुसार पुल निर्माण थालेको पाँच वर्ष कटिसकेको छ । डेढ वर्षमा सक्नुपर्ने पुलको काम अहिलेसम्म पनि सम्पन्न नभएको वडाध्यक्ष लामाले बताए । गत असार पहिलो साता मस्र्याङ्दीमा आएको बाढीले छेउको जग बगाउँदा पुल कोल्टिँदा जोखिमपूर्ण रुपबाट स्थानीयले हिँड्नुपर्ने बाध्यता रहेको छ ।
उक्त पुल बन्ने हो भने १० मिनेटमै गाउँ पुग्न सकिन्छ तर पुल बनाउने भनी निर्माण थालेर अलपत्र अवस्थामा छाड्दा यहाँका बासिन्दा निराश बनेका छन् । निर्माणाधीन अवस्थामा रहेको पुल नखस्दै तथा बाङ्गिएको समयमा निर्माण कम्पनीलाई पुल खस्न लाग्यो भनेर खबर गरे पनि अटेरी गर्दा पुल सबै मस्र्याङ्दीमा खसेको बताइएको छ ।
भाँचिएर खसेको पुल सोझो बनाइनुका साथै स्टिल जडान गरिएका छन् तर, डेढ वर्षअघिदेखि उक्त पुलको निर्माण सम्पन्नतर्फ अघि नबढेको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर प्रह्लाद लामिछानेले बताए। पुल निर्माणका लागि यही चैत ३० सम्म म्याद थपिएको उनले जानकारी दिए ।
निर्माण कम्पनीले भने चिसो, हिमपात, कोभिडलगायत कारण देखाउँदै आएको छ । पुल निर्माणकार्य अलत्रि देखिएपछि ध्यानाकर्षण गराइएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







